१० फाल्गुन २०८१, शनिबार । February 23, 2025

मुख्य खबर

महासंघका अध्यक्षमा चौतारीबाट कोइरालाको उम्मेदवारी



काठमाडौँ, ३० साउन । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनमा आफ्नातर्फबाट पत्रकार तीर्थ कोइरालाई अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघलाई थप व्यावसायिक र साझा बनाउन कोइरालालाई आफ्नातर्फबाट अघि सारिएको घोषणा गर्नुभयो । उहाँले केन्द्रीय पार्षद् सबैभन्दा बढी आफ्नो संगठनको भएकाले अन्य संगठनलाई पनि समेटेर जान प्रस्ताव गर्दा सहमति नभएकाले कोइरालालाई उम्मेदवारी दिन लगाउने निर्णय गरिएको बताउनुभयो ।
अध्यक्ष बस्नेतले भन्नुभयो, “कोइराला हामी सबैमा वरिष्ठ र अग्रज हुनुहुन्छ, उहाँभन्दा व्यावसायिक धार र वाम प्रजातन्त्रिक समूहको साझा उम्मेदवार हामीले अर्काे देखेनौँ ।” महासङ्घको महाधिवेशन आउँदो भदौ ४ र ५ गते काठमाडौँमा हुँदैछ । अध्यक्षका प्रस्तावित उम्मेदवार कोइरालाले महासंघको विश्वसनीयता कायम राख्न दलगत आधारमा नभई पत्रकारकै संस्थाका रुपमा विकसित गर्न आफूले उम्मेदवारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, “महासंघका हालसम्मका उपलब्धिलाई जोगाएर राख्न र पत्रकारितालाई अतिराजनीतिक हावीबाट मुक्त गर्न प्रतिबद्ध हुनेछु ।”

चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र गगन विष्ट, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, ‘नयाँ पत्रिका’ दैनिकका कार्यकारी सम्पादक उमेश चौहानलगायतले कोइरालाको उम्मेदवारीलाई शुभकामना दिनुभयो ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००