१० फाल्गुन २०८१, शनिबार । February 22, 2025

मुख्य खबर

राष्ट्रपतिद्वारा पशुपतिनाथ र नवतन धाममा दर्शन



काठमाडौँ, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी पशुपति दर्शन गरी जलप्रसाद ग्रहण गरेर फर्कनुभएको पशुपति क्षेत्र विकास कोषका निर्देशक एवम् पशुपति मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले जानकारी दिनुभयो । साउनको अन्तिम सोमबार भएकाले अहिले पनि दर्शनका लागि पशुपति क्षेत्रमा भक्तजनको लाम लागिरहेको छ । लाम लागेका दर्शनार्थीलाई दर्शन गराउन अझै दुई घण्टा लाग्ने कोषले जनाएको छ ।

राष्ट्रपति भण्डारीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आजै कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतन धामको पनि दर्शन गर्नुभएको छ । धाममा रहेको श्रीकृष्णको मूर्तिमा राष्ट्रपति भण्डारीले पूजा र आरती पनि गर्नुभयो ।

धाममा आज दुई लाख भक्तजनले दर्शन गरेको श्रीकृष्ण प्रणामी सेवा समितिका सञ्चार विभाग प्रमुख भोला दाहालले बताउनुभयो । दर्शनार्थीका लागि भक्त सुरेन्द्र गोयलले प्रसादको व्यवस्था गर्नुभएको समितिले जनाएको छ ।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज देशभरका कृष्ण मन्दिरमा पूजा आजा गरिएको छ । आज मध्यराति १२ बजे देशभरका कृष्ण मन्दिर एवम् गोठाटारको नवतन धाम र बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघमा विशेष उत्सव गरिने जनाइएको छ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००