तम्घास (गुल्मी), २८ साउन । वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ ।
मुसिकोट नगरपालिका–६ अन्तर्गत भुवाचिदी नजिकै पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेकोे जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि उक्त क्षेत्रबाट तम्घास, पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने सम्पूर्ण सवारीसाधन ठप्प बनेका छन् । सवारीसाधन सञ्चालनमा आउन नसकेपछि घरबाट यात्रामा निस्केका सयौँ यात्रु समस्यामा परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।
वर्षासँगै सडकमा पहिरो खस्ने र पानीले ठूलाठूला खाडल बनाएका कारण जिल्लाका अधिकांश ग्रामीण सडकमा समेत यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोले गोठ पु¥यो, चौपाया मरे
गएराति अविरल वर्षासँगै गएको पहिरोले गुल्मीमा एक गोठ पुरिँदा दुईवटा चौपाया मरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–६ कुर्घास्थित कृष्ण परियारको गोठमा रहेका गोरु र भैँसीको पाडी पहिरोले पुरिएर मरेको जिप्रका गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभएको छ ।
वर्षासँगै गएको पहिरोले सोही ठाउँकै टीका पछाईको पक्की घरमाथिबाट पहिरो खस्दा पछाई परिवार विस्थापित भएका छन् । गएराति पानीसँगै आएको पहिरोले उनको घर गोठ जोखिममा परेको स्थानीयवासी व्यापारी ज्ञानहरि सापकोटाले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया