काठमाडौं, ३ भदौ । कोरोना संक्रमणबाट विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ ।
प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा मोरङ बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा लगिएको थियो ।
तर सो अस्पतालले रोग पहिचान गर्न नसकेपछि भदौ २ गते मंगलबार बिहान बीपी प्रतिष्ठानमा रिफर गरेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले जानकारी दिए ।
उता वीरगन्जको नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
प्रतिक्रिया