२४ माघ २०८१, बिहिबार । February 6, 2025

मुख्य खबर

कोरोना संक्रमितको ‘ट्रावल हिस्ट्री’ भएको स्थानका आफन्तको पिसिआर नेगटिभ, वडाका सबै सेवा सुचारु



दिपक दुलाल ,पाँचथर, ३० साउन । कोरोना संक्रमित ब्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) रहेको पाइएको पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडाका संक्रमितका आफन्तहरु सबैको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
ट्राभल हिस्ट्रि रहेको पाइएका कोरोना संक्रमित शसस्त्र प्रहरीजवानकी श्रीमती तथा आफन्तसबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्ला रेड्क्रस सोसाइटी पाँचथरले उक्त व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको र उनीहरु सबैलाई शुक्रबार नै घर फर्काइएको फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेले जानकारी दिए ।
श्रीमती र छोरासहित ससुराली घर नवमीडाँडामा साउन ६ गते गएर ९ गते आफ्नो कार्यक्षेत्र इलाम फर्किएका शसस्त्र प्रहरीजवानलाई कोरोना संक्रमण भेटिएपछि उनकी श्रीमती र छोरा साथै आफन्तलाई समेत फिदिम स्थित क्वारेन्टिनमा राखेर स्वाब परीक्षणमा पठाइएको थियो ।
उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सामाजिक दुरी कायम राख्दै विशेष सावधानीका साथ सुचारु गरिएको समेत वडाकार्यालय नवमीडाँडाले जनाएको छ ।
नवमीडाँडामा कोरोना संक्रमित व्यक्तिको यात्रा विवरण(ट्राभल हिस्ट्री रहेको र निजले आफ्नो परिवारसँग समय बिताएको तथा अन्य गाउँघरमा समेत हिँडडुल गरेको पाइएकोले कोरोना संक्रमणको जोखिमबाट उच्च सतर्कता अपनाउँन वडाकार्यालयले वडाबासीमा आग्रह गरेको थियो । साथै उनीहरुको पिसिआर रिपोर्ट नआउन्जेलसम्म वडाकार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु समेत बन्द गर्ने निर्णय गरेको थियो ।
फाल्गुनन्द १ स्थित ससुराली घरमा केहिदिन बसेर फर्किएका शसस्त्र प्रहरीजवानलाई कोरोना संक्रमण भेटिएपछि नवमीडाँडामा कोरोना संक्रमणको त्रास फैलिएको थियो । उनका अफन्त सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि स्थानियबासीहरुले उक्त त्रासबाट मुक्त भइ ढुक्क महसुस गरेको वडा अध्यक्ष आङ्देम्बेले बताए ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार ००:००