काठमाडौं २, साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ।
पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पटक–पटक भएको भेटवार्तामा पार्टीको आन्तरिक समस्या समाधानका लागि कुनै समझदारी नभएपनि बैठक बस्न लागेको हो।
दुई अध्यक्षबीच सहमतिको विन्दु पहिल्याउने समयका लागि भन्दै स्थायी कमिटी बैठक पाँचौं पटकसम्म स्थगित गरिएको थियो। तर, अध्यक्षद्धयबीचको भेटवार्ता उपलब्धीबिहीन भयो।
आजको स्थायी कमिटी बैठकमा पार्टीको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना रहेको छ।
हिजो भएको भेटवार्तामा अध्यक्षद्धय र वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा सहमत भएका थिए। त्यस लगत्तै प्रचण्ड–नेपाल पक्षको भेला खुमलटारमा बसेको थियो।
ओली पक्षको भेला भने बालुवाटारमा बसेको थियो। दुबै पक्षले स्थायी कमिटी बैठक र बोलाइएको खण्डमा केन्द्रीय कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक रणनीति बनाएको एक नेताले बताए।
नेकपामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुबै पदबाट राजीनामा माग्दै आएका छन्। पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको आरोप ओलीमाथि छ।
तर, अध्यक्ष ओलीले भने पनि दुबै पद कुनै पनि हालतमा नछाड्ने बताउँदै आएका छन्। दुबै पक्ष आ–आफ्ना अडानबाट पछि नहटेपछि पार्टीको आन्तरिक समस्या समाधानोन्मुख छैन।
नेकपाको सचिवालय, स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म प्रचण्ड र माधव पक्षको बहुमत छ। ओली अल्पमतमा छन्। तर, संसदीय दलमा भने ओलीको बहुमत रहेको बताइएको छ।
प्रतिक्रिया