२४ माघ २०८१, बिहिबार । February 6, 2025

Uncategorized

फेरि भारतबाट सलह दाङ, बाग्लुङ र जुम्लामा आयो



काठमाडौं २८, असार । नेपालमा फेरि भारतबाट सलह प्रवेश गरेको छ। दाङ, बाग्लुङ र जुम्लामा सलह देखिएको छ।

सलह सूचना केन्द्रले आइतबार (आज) बिहान साढे ९ बजेतिर दाङको गडवामा भारतबाट ठूलो सङ्ख्यामा सलह प्रवेश गरेको जनाएको छ । अन्य दुई स्थानमा भने पहिले नै आएर फेरि सक्रिय भएको दाबी गरेको छ।

केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले दाङको गढवामा आएको सलह भारतको सीतापुर र बहराइज क्षेत्रबाट आएको बताए।

सुवेदीकाअनुसार गढवाको वडा नम्बर २ नम्बर र ३ नम्बर वडामा प्रवेश गरेका सलह दिउँसो प्युठान र अर्घाखाँचीतिर उडेको छ।

यसअघि गएको असार १३ गते नेपालमा सलह प्रवेश गरेको थियो। तर, पानी परिरहेपछि निष्क्रिय बनेको सलह घाम लागेपछि सक्रिय भएको केन्द्रका प्रमुख सुवेदी बताउँछन। केन्द्रले सलहको झुण्ड अझै आउन सक्ने भन्दै सतर्क रहन किसानलाई आग्रह गरेको छ।

देशको विभिन्न ठाउँमा किसानले सलहलाई नियन्त्रणमा लिन मारेर खाएका थिए। केही प्रदेशले भने सलह किसानलाई मार्न प्रोत्साहन गर्दै प्रतिकिलो २५ रूपैयाँसम्ममा किनेका थिए।

केही जिल्लाका किसानको धान, मकैलगायत बालीमा सलहले यसअघि पनि क्षति पुर्याएकाे थियो। तर, पानी पर्नु र पहाडमा चिसो हुनुले सलह तितरबितर पनि भएको थियो। केही ठाउँमा मरेको पाइएको थियो।

प्रकाशित : २८ असार २०७७, आइतबार ००:००