२४ माघ २०८१, बिहिबार । February 6, 2025

Uncategorized

पोखरामा पहिरोको बितण्डा : घर पुरिँदा ६ जनाको मृत्यु, ९ जना घाइते



काठमाडौं २६, असार । पहिरोले पुरिएर पोखराको विभिन्न ठाउँमा ६ जनाको मृत्यु भएको छ। अरू ९ जना घाइते भएका छन्।

गएराति वर्षापछि गएको पहिरोले घर पुरिँदा पोखराको सराङ्कोटस्थित गोठादीमा पाँच जनाको मृत्यु भएको छ।

वडाध्यक्ष रणबहादुर थापाकाअनुसार राति करिब दुई बजे गएको पहिरोले टंकबहादुर थापाको घर पुरिएको हो।

घर पुरिँदा हालसम्म टंकसहित पाँच जनाको शव निकालिएको छ। अन्य खोजी भइरहेको वडाध्यक्ष थापाले बताए।

घाइते भएका छ जनालाई उद्दार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्प्ताल लगिएको छ।

कास्की प्रहरी प्रवक्ता सुवास हमालले जन्मदिन मनाउन पाहुना पनि आएकाले घरमा कति मानिस थिए भन्ने यकिन नभएको र पहिरो हटाएर खोजी कार्य भइरहेको बताए।

पोखराकै हेमजामापनि गएराती गएको पहिरोमा पुरिएर हिमकली अधिकारीको मृत्यु भएको छ।
पोखराको छोरेपाटन सिमलटुँडामा पनि पहिरोले घर पुरिँदा ३ जना घाइते भएका छन्।

कास्की प्रहरीले चन्द्रबहादुर मगरसहित उनकी श्रीमती शान्ति मगर र छोरा सुशन मगर घाइते भएको जनाएको छ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार ००:००