२४ माघ २०८१, बिहिबार । February 6, 2025

Uncategorized

सरकार र जनताको अपेक्षा पूरा गर्न ‘खरो’ गरी उत्रिन्छु : आइजिपी थापा (फोटो फिचरसहित)



काठमाडौं २५, असार । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पदभार ग्रहण गरेपछि सरकार र जनताको अपेक्षा पूरा गराउन ‘खरो’ गरी उत्रिने बताएका छन्।

तर, प्रहरी महानिरीक्षक एक्लैले सबै अपेक्षा पूरा गर्न नसक्ने भन्दै उनले सरकारको उचित निर्देशन, भरपर्दो सहयोगी र स्वस्थ आलोचना आवश्यक हुने बताए।

‘मेरो सफलता वा असफलता भनेको यिनै कुराहरूको समायोजन कसरी गर्ने भन्नेमा निर्भर गर्छ भन्ने लाग्छ र म मेरो पूरा तागत यसमा लगाउने वाचा गर्दछु।’ थापाले भने।

नेपाल प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय रहेको भन्दै कानुन उल्लङ्घन गर्ने निकायको रूपमा रुपान्तरण हुन नदिने, कसैले बर्दीमा दाग लगाउने कोशिस गर्छ भने उसमाथि निर्मम रूपमा कारवाही प्रक्रिया अगाडि बढाइने र प्रहरी सङ्गठनलाई संस्थागत निर्णयको आधारमा अगाडि बढाइने बताए।

महानिरीक्षक थापा विसं २०२५ मंसिर २३ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा जन्मेका हुन्।

२०४९ वैशाख १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका उनी २०५८ फागुन १० गते प्रहरी नायव उपरीक्षक, २०६७ पुस २० गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायव महानिरीक्षक र २०७६ चैत ९ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए।

राजनीतिशास्त्रमा स्नातकोत्तर थापाले कमाण्ड र स्टाफ कोर्श, लिडरसिप एण्ड म्यानेजमेन्ट ट्रेनिङ प्रोग्रामलगायत विभिन्न १७ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्।

महानिरीक्षक थापा यसअघि दुर्गम सेवा पदक, दैवी प्रकोप पीडितोद्वार पदक, गद्दी आरोहण रजत पदक, प्रसिद्ध सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथोलगायतका विभूषणबाट विभूषित भएका छन्।

तस्बिरहरू साैजन्य : प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडाैं।

प्रकाशित : २५ असार २०७७, बिहिबार ००:००