काठमाडौं २४, असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक चौंथो पटक स्थगित भएको छ।
पार्टीको विदेश विभाग उपप्रमुख विष्णु रिजालले २६ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए।
गएको असार ११ गतेदेखि बैठक सुरु भएको हो। बैठककमा पार्टी सञ्चालन र सरकारको कामकारबाहीमाथिको एजेण्डामा छलफल भएपछि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै बहुमत स्थायी समिति सदस्यहरूले दुबै पदबाट राजीनामा मागे।
त्यसपछि चुलिएको नेकपा भित्रको मतभेद पार्टी विभाजन नजिक पनि पुग्यो। तर, पार्टीको दोस्रो तहका नेताहरूले पार्टी विभाजनबाट जोगाउन खबरदारी गरेपछि ओली पछि हटेका छन्।
केही दिनदेखि ओली–प्रचण्ड वान टु वान वार्ता हुँदै आएको छ। दुई अध्यक्षबीच वार्ताको लागि भएपनि स्थायी समिति बैठक फेरि स्थगित गरिएको बुझिएको छ।
नेकपाका एक जना नेताकाअनुसार दुई अध्यक्षबीचको वार्ता प्रधानमन्त्री पदमा गएर अड्किएको छ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री पद छोड्न दबाब दिँदै आएका छन्।
यद्यपि, उक्त पद छाड्न ओलीले टसमस गरेका छैनन्।
प्रतिक्रिया