२२ माघ २०८१, मंगलबार । February 4, 2025

समाचार

कोरोना सङ्कटमा कम्युनिस्ट सरकार कुर्सीको खेलमा लाग्यो : कांग्रेस महामन्त्री कोइराला



काठमाडौं २३, असार । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले मुलुक कोरोना संक्रमणको महामारीमा रहँदा कम्युनिस्ट नेतृत्वको सरकार भने कुर्सी जोगाउने खेलमा लागेको आरोप लगाएका छन्।

रेल, पानी जहाजका सपना बाँडेर जनताबाट भोट पाएपनि सङ्कटका बेला सरकारले जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको कोइरालाको आरोप छ।

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आज (मङ्गलबार) आयोजना गरेको ‘विपीको प्रजातान्त्रीक समाजवाद र आगामी महाधिवेशन’ विषयक कार्यक्रममा उनले त्यसो भनेका हुन्।

कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रीक समाजवादमा गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको समेत महामन्त्री कोइरालाको भनाइ छ।

उनले संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि आगामी १४ औं महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे।

‘महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ’, उनले भने, ‘१४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप्छ।’

कार्यक्रममा नेता डा. मिनेन्द्र रिजालले नयाँ संविधानमा विपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए।

कार्यक्रममा केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी र किरण यादवले पनि विपी कोइरालाको प्रजातान्त्रीक समाजवादको विषयमा धारणा राखेका थिए।

प्रकाशित : २३ असार २०७७, मंगलबार ००:००