![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/07/Hou-yanxi.jpg?resize=659%2C659)
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधान नभइरहेको अवस्थामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त पार्टीका केही शीर्ष नेताहरूसँगको भेटघाटलाई तीब्रता दिएकी छिन्।
केही दिन अगाडि वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटबार्ता गरेकी उनले आज (मङ्गलबार) अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेटबार्ता गरेकी छिन्।
उनको बाक्लिएको भेटबार्तालाई लिएर परराष्ट्र मामिलाका जानकारहरूले कडा आलोचना गर्दै आएका छन्।
कूटनीतिक मर्यादा नाघेर कुनै पार्टीको आन्तरिक मामिलामा चासो राखेको भन्दै उनको आलोचना हुँदै आएको छ।
आलोचनाबीच उनले नेता खनालसँग भेटेर ४५ मिनेट जति कुराकानी गरेका छन्। एक नेताले बताएअनुसार राजदूत यान्छीले खनाललाई एकताबद्ध भएर अगाडि बढ्न सुझाव दिएका छन्।
नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएको छ।
त्यसपछि झम्सिखेलमा बसेको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्य तथा मन्त्रीहरू सम्मिलित बैठकले अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने निश्कर्ष निकालेको थियो।
त्यसबीचमा ओलीले गरेको हठात् संसद अधिवेशन अन्त्य, आफूलाई पदबाट हटाउन भारतले खोजेको लगायत विवादित अभिव्यक्ति र गतिविधि गरेपछि राजीनामा माग्ने पक्ष अझ कडा रूपमा प्रस्तुत भएको थियो।
तर, पार्टीका दोस्रो पुस्ताका नेताहरूले पार्टी विभाजन नगर्न खबरदारी गरेपछि आइतबारदेखि दुई अध्यक्षबीच वान टु वान भेटबार्ता हुँदै आएको छ।
तर, हाल पार्टीमा देखिएको संकटको समाधान कसरी निकाल्ने भन्नेमा नेताहरू निछोडमा पुगिसकेका छैनन्।
प्रतिक्रिया