१८ माघ २०८१, शुक्रबार । January 31, 2025

Uncategorized

राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताब ल्याउने झुट्टा प्रचार हाे : नेकपा प्रवक्ता श्रेष्ठ



काठमाडौं २१, असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले राष्ट्रपतिविरुद्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुट्टा प्रचार भएको बताएका छन्। उनले त्यस्तो प्रचार कसैले गर्न नहुने पनि बताए।

शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको मन्त्रीहरूसँगको ब्रिफिङपछि पार्टी विभाजनको संघारमा पुगेको अड्कलबाजीबीच प्रवक्ता श्रेष्ठले यस्तो प्रचार गरेर राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह समेत गरे।

‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो’, उनले भने, ‘यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौं।’

राष्ट्रपति संस्थाको अवमुल्यन नगर्न र राष्ट्रपति स्वयंको पनि त्यसपति ध्यान जानु पर्नेमा उनको जोड छ।

नेकपामा अध्यक्ष तथा प्रम ओलीको राजीनामा चर्को गरी मागिएको छ। पार्टी र सरकार प्रभावकारी ढङ्गले चलाउन नसकेको उनीमाथि अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमले आरोप लगाउँदै राजीनामा मागेका हुन्।

स्थायी समितिको बहुमत सदस्यले पनि ओलीको राजीनामा माग्दै आएका छन्।यसपछि नेकपा विवाद पार्टी विभाजनतिर उन्मुख भएको छ।

पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी आन्तरिक सङ्कटमा गुज्रिएको बेला त्यागको भावना अध्यक्ष ओलीमा हुनुपर्ने तर्फ संकेत गरेका छन्। उनले भनेका छन् ‘किन किन नेल्सन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्राईलाई सपनामा भेट्न पुगिएछ।’

प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्रीसमेत रहेका सांसद गोकुलप्रसाद बाँस्कोटाले भने प्रम ओलीको प्रतिरक्षा गर्दै नाकाबन्दी नटेर्दा र चुच्चे नक्सा निकाल्दाको सजाय ओलीलाई दिन खोजिएको टिप्पणी गरे।

उनले पार्टीको स्थायी समिति विचार र संगठनको मियो भन्दापनि अस्थिरता, प्रतिशोध साँध्ने अखडा भएको भन्दै अधिवेशन नगरी चार/पाँच जनाको भेलाले अध्यक्ष हटाउने खेल खेलेको आरोप लगाए।

नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव लगेर हटाउने भन्ने सूचना गलत रहेको र गलत सूचनामा बहकिन नहुने बताएकी छिन्।

प्रकाशित : २१ असार २०७७, आइतबार ००:००