काठमाडौं २०, असार । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अझै उत्कृष्ट जनशक्ति उत्पादन गर्नेतर्फ सदैव क्रियाशील रही व्यावसायिक दक्षता प्रदर्शन गर्न प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरीको उच्च छविलाई कायम राख्न सबै प्रहरी कर्मचारीहरूले आफ्नो विवेक, निष्ठा र साहसको प्रदर्शन गर्दै राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्नेमा पनि प्रहरी महानिरीक्षक ज्ञवालीले जोड दिए।
अग्रपंक्तिमा रहेर अहोरात्र राष्ट्र र नागरिकको सेवामा समर्पित रहने प्रहरी कर्मचारीहरूलाई उचित शिक्षा र व्यावसायिक दक्षता प्रदान गरी शारीरिक तथा मानसिक रुपमा चुस्त दुरुस्त राख्न प्रहरी तालिम केन्द्रहरूको भूमिका अहम रहने पनि उनको भनाई छ।
उनले महाविद्यालयमा नवनिर्मित नागरिक सहायता कक्ष, डिउटी अधिकृत कक्ष तथा रिमोट कन्ट्रोल मुख्य प्रवेशद्वारको शनिबार उद्घाटन समेत गरे।
प्रतिक्रिया