काठमाडौं २०, असार । देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। अरू ८ जना घाइते भएका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा को.११ प २६५८ नम्बरको मोटरसाइकलका चालक सोही उपमहानगरपालिका–७ बस्ने २० वर्षीया स्वस्तिका चौधरी रहेका छन्।
उनी दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्। उनको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
चौधरी सवार मोटरसाइकलले को.२३ प ५५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बाराको कलौया उपमहानगरपालिका–२३ कलैयामा ना.३१ प ७८३९ नम्बरको मोटरसाइकल र ना.१० प १०२४ नम्बरको मोटरसाइकलबीच ठक्कर खाई दुर्घटना हुँदा ना.१० प १०२४ नम्बरको मोटरसाइकलका चालक सोही उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय रितिक यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको न्युरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
तेह्रथुमको आठराई गाउँपालिका–५ सुकेपोखरी सार्की डाँडामा मे.१ त ६२१९ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ।
दुर्घटनामा सोही गाउँपालिका–५ बस्ने ३८ वर्षीय ललित खवासको घटनास्थलमै र गम्भीर घाइते भएका सोही गाउँपालिका–४ बस्ने ४० वर्षीय श्याम मगरको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ५ जनामध्ये ३ जनाको समर्पित अस्पताल पाँचथर र २ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
प्युठानको सरूमारानी गाउँपालिका–६ मोतीपुर मा ना.७ ख ८९३८ नम्बरको टिपर सडकबाट अन्दाजी ६ सय मिटर तल खसेर आज (शनिबार) बिहान दुर्घटना हुँदा टिपरका चालक नौबहिनी गाउँपालिका–६ पिपलटारी बस्ने ३० वर्षीय रोशन थापा र सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय झकबहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ।
नौबहिनी गाउँपालिका–७ लुप्लुङबाट चुनढुंगा लिई दाङको कालाकाटेतर्फ जाँदै गरेको अवस्थामा उक्त टिपर दुर्घटना भएको हो।
प्रतिक्रिया