२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

नेकपा स्थायी कमिटी बैठक स्थगित, पार्टी विभाजनबाट जोगाउन दौडधुप



काठमाडौं २०, असार । आन्तरिक मतभेदकै कारण पार्टी ‘फुट’ तर्फ गएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ।

आगामी २२ गते बस्ने गरी बैठक स्थगित गरिएको नेकपाले जनाएको छ। मतभेदलाई सहमतिमै टुङ्ग्याएर पार्टीलाई विभाजनबाट जोगाउनका लागि थप छलफल गर्न बैठक स्थगित गरेको एक स्थायी कमिटी सदस्यले बताए।

शुक्रबार (हिजो) पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच करिब तीन घण्टा छलफल भएपनि केही निछोड निस्केन।

उक्त छलफलमा प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री पदबाट हट्न ओलीलाई आग्रह गरेको र ओलीले नहट्ने बताएका थिए। त्यसपछि आज फेरि छलफल हुने बताइएको छ। तर, अहिलेसम्म छलफल भएको छैन।

पार्टीको दोस्रो तहका नेताहरूले जुनसुकै हालतमा पार्टीलाई विभाजन गराउन नहुने भन्दै शीर्ष नेताहरूले शुक्रबार खबरदारी गर्दै आएका छन्। पार्टी विभाजन भए जनता र देशलाई धोका हुने बताउँदै आएका छन्।

जारी स्थायी समिति बैठकमा बहुमत स्थायी समिति सदस्यहरूले ओलीले पार्टी र सरकार प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको र पटक–पटक पदीय मर्यादाको ख्याल नगरी विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै दुबै पदबाट राजीनामा दिन दबाब दिँदै आएका छन्।

पार्टीका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताले ओलीले पनि दुबै पदबाट राजीनामा दिनु पर्ने माग गर्दै आएका छन्।

ओलीले पार्टीमा घेराबन्दी भएपछि आफूलाई पदबाट भारतले हटाउन खोजेको विवादास्पद अभिव्यक्ति दिएका थिए। त्यसपछि बिहीबार संसदको वर्षे अधिवेशन पनि हठात् अन्त्य गरेपछि नेकपाभित्रको मतभेद झनै चर्किएको हो।

अधिवेशन अन्त्य गर्नुलाई प्रचण्ड–नेपाल पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल विभाजन गर्ने ओलीको तयारीको रूपमा बुझेका छन्।

प्रकाशित : २० असार २०७७, शनिबार ००:००