२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

नेकपा लक्षित राप्रपा अध्यक्ष थापाको व्यङग्य : ‘दाजुभाई मिलेकै बेस, शुभकामना’



काठमाडौं २०, असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई व्यङग्यत्मक शैलीमा ‘दाजुभाई मिलेकै बेस’ भन्दै शुभकामना दिएका छन्।

उनले यसलाई ‘शनिबारको हलुका रमाइलो’ पनि भनेका छन्। नेकपाको आज बस्ने स्थायी समिति बैठकको निर्णयले नै पार्टी एकता अझ बलियो भएर जाने वा पार्टी फुट्ने दुबै सम्भावनाको ढोका खोल्ने छ।

आजको दिनलाई नेकपाका केही शीर्ष नेताले ऐतिहासिक दिन हुन सक्ने उल्लेख गर्दै पनि आएका छन्।

यही मेसोमा राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र प्रचण्ड सँगै उभिएको तस्बिर पोष्ट गर्दै ‘तस्बिरको अघिल्लो पंक्तिमा देखिनु भएका दुई आदरणीय महानुभावहरूको अनुहार, जिउडाल र मधुर मुस्कान हेर्दा साख्खै दाजुभाई जस्ता देखिन्छन् (साच्चै भनेको)। अंशबण्डाको झगडा टुंग्याएर हात मिलाए जस्तो भाव भंगिमा छ,दाजुभाई मिलेकै बेश।शुभकामना’

नेकपाको स्थायी समिति बैठक आज (शनिबार) बिहान ११ बजे बस्ने छ। त्यसअघि दुई अध्यक्षबीच फेरि पार्टीभित्रको आन्तरिक मतभेद टुङ्ग्याउन छलफल हुने भएको छ।

यसअघि हिजो दुई अध्यक्षबीचको झण्डै तीन घण्टा भएको छलफल निश्कर्षबिहीन टुङ्गियो। पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने भन्दै आफ्नो पुरानै अडानबाट ओली टसमस नभएपछि छलफल आज बस्ने गरी टुङ्गिएको हो।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका शीर्ष नेताहरूसँगै स्थायी समितिका बहुमत सदस्यहरूले अध्यक्ष ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढुङ्गले सञ्चालन गर्न नसकेको भन्दै दुबै पदबाट राजीनामा दिनु पर्ने माग गर्दै आएका छन्।

प्रकाशित : २० असार २०७७, शनिबार ००:००