२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

ओली–प्रचण्डबीच भएको छलफल निश्कर्षबिहीन



काठमाडौं १९, असार । आन्तरिक मतभेदले थिलथिलो बनेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना अध्यक्षबीच छलफल भएको छ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले भने कुनै निश्कर्ष निकाल्न सकेन।

तर, पनि फेरि भोली छलफल गर्ने दुई अध्यक्षबीच कुरा भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

पार्टीका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्धन शर्मा ‘प्रभाकर’ लाई सँगै राखेर दुई अध्यक्षले पार्टीभित्रको आन्तरिक मतभेद टुङ्ग्याउने प्रयास स्वरूप छलफल गरेका हुन्।

भोली (शनिबार) बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्दैछ। बैठक बस्नुअघि हुने दुई अध्यक्षबीचको छलफलले के निश्कर्ष निकाल्ला भन्ने चासो पनि छ।

जारी स्थायी समिति बैठकमा आफूलाई भारतले पदबाट हटाउन खोजेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि पार्टीभित्रको आन्तरिक मतभेद झनै चुलिएको छ।

पार्टी र सरकार सञ्चालनको गतिविधिमाथि समिक्षा गर्ने क्रममा बहुमत स्थायी समिति सदस्यहरूले पार्टी र सरकार प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै दुबै पदबाट राजीनामा दिन चर्को दबाब दिए।

त्यसपछि बुधबार बसेको दाहाल–नेपाल पक्षीय स्थायी समिति र मन्त्रीहरूको भेलाले पनि कि त ओलीले पार्टीको निर्णय मान्नु पर्ने, होइन भने दुबै पदबाट राजीनामा दिनु पर्ने निश्कर्ष निकालेको थियो।

यो निश्कर्षसँगै ओलीले दुबै पद नछाड्ने बरू परिस्थिति हेरौंला भन्ने चेतावनी दिएका छन्। बिहीबार फेरि उनले राजनीतिक दल विभाजन गर्न खुुकुलो पार्न मिल्ने गरिको दलसम्बन्धी अध्यादेश ल्याउन सहज हुने गरी संसदको वर्षे अधिवेशन पनि अन्त्य गरेका छन्।

ओलीको उक्त कदमपछि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका शीर्ष नेताहरू सशंकित भएका छन्।

पार्टी फुट्नेसम्मको स्थिति निम्तिएको आशंका गरिएको छ। यस्तो अवस्थाबाट पार्टीलाई बचाउन आज (शुक्रबार) बिहान पार्टीका दोस्रो तहका नौं जना नेताहरू बसेर पार्टी एकता कुनै पनि हालतमा नटुटाउन खबरदारी गर्ने निर्णय गरेका छन्।

प्रकाशित : १९ असार २०७७, शुक्रबार ००:००