१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

कांग्रेसको प्रम ओलीलाई प्रश्न : जनताको जीवन प्रधान कि सत्ताको राजनीति?



काठमाडौं १८, असार । नेपाली कांग्रेसले संघीय संसदको अधिवेशन सरकारले अन्त्य गरेको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया भएको र त्यसलाई अवलम्बन नगरिएको भन्दै कांग्रेसले आपत्ती पनि प्रकट गरेको छ।

कांग्रेसले कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरूबारे टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिनुलाई दुःखद भनेको छ।

संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेससँग परामर्श नगरिएको र संसद अन्त्यबारे पूर्वसूचना पनि नदिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

उनले सत्तारूढ दलभित्रको विवादको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक भएको उल्लेख गरे।

‘विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीतिसाथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो’, शर्माले विज्ञप्तीमार्फत भनेका छन्, ‘तर, अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ।’

जनताको जीवन प्रधान कि सत्ताको राजनीति? भन्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। र, संघीय संसदको अधिवेशन सरकारले अन्त्य गरेकोमा असहमति प्रकट गरेका छन्।

प्रकाशित : १८ असार २०७७, बिहिबार ००:००