काठमाडौं १८, असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जटिल आन्तरिक मतभेदमा फसेको छ।
एकातिर मुलुक कोरोना संक्रमणसँग गुज्रिरहेको बेला सत्तामा रहेको दलको आन्तरिक विवाद उत्कर्षमा पुगेको हो।
पार्टीका एक जना अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले ओली पक्षका नेताहरूसँग आज (बिहीबार) बिहानदेखि छलफल थालेको छ।
यसअघि हिजो ओली पक्षले बालुवाटारमा आफूनिकट र दाहाल–नेपाल पक्षले झम्सिखेलमा आफूनिकटका नेतासँग छलफल गरेको थियो।
त्यसपछि ओली पक्षका नेताहरूसँग आज छलफल गर्ने तय भएअनुसार छलफल थालिएको नेता नेपाल निकट एक जना नेताले बताए।
छलफलमा ओली पक्षका नेताहरू सुवासचन्द्र नेम्बाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरललगायत सहभागी भएका छन्।
यसअघि हिजो भएको दाहाल–नेपाल पक्षको भेलाले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कि त पार्टीको निर्णय मान्नु पर्ने होइन भने दुबै पदबाट राजीनामा दिनु पर्ने निश्कर्ष निकालेको थियो।
तर, पनि सहमतिमै निर्णय गरिने भन्दै ओली पक्षका नेताहरूसँग दाहाल–नेपाल पक्षले छलफल गर्न चाहेको देखिन्छ।
नेकपाको जारी स्थायी समिति बैठकमा ओलीले पार्टी र सरकार दुबै प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको, अहंकार, दम्भ र घमण्ड बढेको, पदीय मर्यादा कायम गर्न नसकेको, विवादास्पद अभिव्यक्ति दिएकोलगायत दाहाल–नेपाल पक्षको स्थायी समिति सदस्यहरूले आरोप लगाएका छन्।
ओलीलाई दुबै पद जोगाउन हम्मेहम्मे परेको छ। यसबीचमा उनले अब कसरी अगाडि बढ्ने भनेर आफूनिकटका नेताहरूसँग हिजो छलफल गरेका हुन्।
त्यहाँ नेताहरूले सहमतिमै समस्या समाधान गर्नु पर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया