काठमाडौं १७, असार । जारी स्थायी समिति बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का एक जना अध्यक्ष केपी शर्मा ओलीले विकसित जटिलतालाई समाधान गर्न सुझाव मागेका छन्।
आफू निकटका स्थायी समिति सदस्य तथा मन्त्रीहरूलाई बालुवाटारमा बुधबार (आज) बोलाएर ओलीले सुझाव मागेका छन्।
ओलीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाललगायत नेतासँग परामर्श गरेका हुन्।
बालुवाटार पुगेका नेताहरूले ओलीलाई पार्टी एकता कायम गर्न सुझाएका छन्। स्थायी कमिटी बैठकमा तय भएको पार्टी र सरकारको कामको समिक्षा एजेण्डामा छलफल प्रवेश गरेपछि प्रम ओलीले पार्टी र सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै सचिवालयमा रहेका पाँच जना नेतासहित स्थायी समितिका बहुमत सदस्यले ओलीको राजीनामा मागेका थिए।
यसरी राजीनामा माग्नेहरूमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दालहा ‘प्रचण्ड’, वरिष्ठ नेता माद्यवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, रघुजी पन्तलगायत थिए।
केही दिन अगाडि ओलीले भारतले आफूलाई पदबाट हटाउन खोजेको बताएका थिए। तर, अर्का अध्यक्ष प्रचण्डले भारतले नभई आफूले पहिलेदेखि नै राजीनामा दिन भनेको उल्लेख गरेका थिए।
प्रतिक्रिया