१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

विदेशदेखि आएका युवालाई रोजगारको व्यवस्था गर्न सरकारलाई कांग्रेसको सुझाव



काठमाडौं १६, असार । नेपाली कांग्रेसको प्रतिनिधि मण्डलले सरकारलाई भारतसहित विदेशबाट आएका युवालाई रोजगारीको व्यवस्था गर्न सुझाव दिएको छ।

कांग्रेसद्धारा गठित कोभिड–१९ अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गर्दै विदेशबाट फर्किएका युवालाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग दोहो¥याएको हो।

प्रतिनिधि मण्डलले बन्दाबन्दीले प्रभावित बनेको उद्योग धन्दाको सुचालुका लागि आर्थिक सहायताको व्यवस्था, साना मझौला र अनौपचारिक व्यवसायहरूलाई विशेष सहयोगको प्याकेज ल्याउन, क्वारेन्टाइन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायहरूलाई पर्याप्त र समयमै बजेट उपलव्ध गराउन, गरिब र बेरोजगारहरूलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन र वैदेशिक रोजगारबाट फर्किने युवालाई हवाई भाडामा सहुलियत दिन पनि मन्त्री खतिवडालाई सुझाएको छ।

सोही अवसरमा एसियाली विकास बैंक, विश्व बैंक लगायतका विकास सहयोगी संस्थाहरूबाट प्राप्त सहयोगबारे पनि प्रतिनिधि मण्डलले जानकारी लिएका थिए।

त्यसअघि पनि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग प्रतिनिधि मण्डलले क्वारेन्टिनको उचित व्यवस्थापन, पिसिआर परीक्षणको दायरा बढाउन, विदेश र छिमेकी मुलुकबाट आउने नेपालीलाई सुरक्षित र व्यवस्थित क्वारेन्टिनको व्यवस्था गर्न, स्थानीय तहहरूलाई समयमै पर्याप्त रकम उपलव्ध गराउन, स्वास्थ्य उपकरणको खरिद र गुणस्तरबारेमा पारदर्शिता अपनाउन, नन–कोभिड रोगको (दीर्घ रोगी, प्रसुती सेवा, खोप, मानसिक समस्या जस्तै डिप्रेसन आदि) उपचारबारेमा विशेष ध्यान दिन पन सुझाएको छ।

प्रकाशित : १६ असार २०७७, मंगलबार ००:००