काठमाडौं १६, असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको सवाल उठ्ने देखिएको छ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले पार्टी र सरकार दुबै मोर्चामा ओली असफल भएको भन्दै पदच्युत गर्ने संकेत गरेका छन्।
यसअघि पार्टीको सचिवालय बैठकमा पनि ओलीलाई हटाउने खेल भएको थियो। तर, नेता बामदेव गौतमले अन्तिम समयमा साथ दिएपछि ओलीका लागि महासंकट टरेको थियो।
जतिबेला दुबै पक्षले सचिवालय र संददीय दलमा बहुमत पुर्याउन पनि सकेनन्।
तर, पार्टीको स्थायी कमिटीमा भने प्रचण्ड र नेपाल पक्ष मिल्दा ओली अल्पमत रहेको देखिन्छ।
यही मौकामा ओलीलाई राजीनामा दिन चर्को दबाब दिने भएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताए।
यसअघि स्थायी कमिटी बैठकमा नेपालको जारी नयाँ नक्सा र नेपाल–भारत सीमाबारेको एजेण्डामाथि छलफल भएको थियो।
मङ्गलबार (आज) देखि भने पार्टी र सरकारको गतिबिधिबारे छलफल भइरहेको छ।
ओलीले असारको १४ गते विदेशी शक्तिले आफूलाई हटाउन खोजेको आरोप लगाएका थिए।
प्रतिक्रिया