१९ माघ २०८१, शनिबार । February 2, 2025

समाचार

सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ७ जना घाइते



काठमाडौं,१६ असार । देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। अरू सात जना घाइते भएका छन्।

चितवनको भरतपुरमहानगरपालिका–१९ सत्रकिलामा बा.१३ च ५९२९ नम्बरको स्कारपियो र एनएल ०१ क्यू ५१०६ नम्बरको ग्याँस बुलेट आपसमा ठक्कर खाएर सोमबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कारपियोमा सवार हेटौंडा उपमहानगरपालिका–५ बस्ने ४८ वर्षीया प्रभा गौतमको मृत्यु भएको छ।

उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै गौतमको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अरू चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

ग्याँस बुलेटका चालक फरार भएका छन्। प्रहरीले उनलाई खोजी गरिरहेको छ।
मोरङको धनपालथानगाउँपालिका–५ स्थितलखना रायको खेत जोत्ने क्रममा को.२ त ६२१८ नम्बरको ट्याक्टर पल्टिएर च्यापिँदा चालक सोही गाउँपालिका–६ बस्ने २२ वर्षीय मोहम्मद सजाद मियाँको घटनास्थलमा नै मृत्यु भएको छ।

रूपन्देहीको सैनामैनानगरपालिका–८ शान्तीटोलमा लु.२ च ८५२९ नम्बरको कार र लु.५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–१ बनकट्टा बस्ने ३२ वर्षीय सन्तोष परियार र मोटरसाइकलमा सवार उनकै बुवा ५० वर्षीय टेकबहादुर परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

साथै, दुर्घटनामा घाइते भएका कारमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–९ पुरानो सडकमा लु.१७ प ३१७५ नम्बरको मोटरसाकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दिलमान राईको सोमबार राति मृत्यु भएको छ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा का.१ख ४३६६ नम्बरको ट्रकले सोही ठाउँ बस्ने ४० वर्षीया कल्पना सुब्बाको घरमा ठक्कर खाएर करिब ५० फिट तल खसेर दुर्घटना हुँदा पहिचान नखुलेका ट्रक चालकको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा चोट लागेर सामान्य घाइते भएकी सुब्बाकी १२ वर्षीया छोरी जुनु सुब्बाको स्थानीय मेडिकल भेडेटारमा उपचारपछि डिस्चार्ज भएको छ। ट्रकको ठक्करबाट उनको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। प्रहरीले ट्रकको सह–चालकलाई नियन्त्रणमा लिएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१कट्टिपुर चोकमा भे.६ प २५२० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–२ बस्ने ३० वर्षीय रमेश परियार घाइते भएका छन्।

उनका ५ वर्षीय छोरा हिमान्सु परियारको सोमबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका हिमान्सुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, घाइते रमेश र मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : १६ असार २०७७, मंगलबार ००:००