१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

उपत्यकामा निर्माण र विस्तार भइरहेका सडकको मन्त्री नेम्बाङद्धारा अनुगमन




काठमाडौं १३, असार । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले काठमाडौं उपत्यकामा विस्तार र निर्माण भइरहेका सडकहरूको स्थलगत अनुगमन गरेका छन्।

बालकुमारीको हनुमन्ते कोरिडोर, उपत्यकाकै सर्वाधिक सवारी जाम हुने कोटेश्वर चोकमा निर्माणको क्रममा रहेको चार लेनको सडक विस्तार आयोजना, गौशला–चाबहील सडक र जोरपाटी–साँखु सडक खण्डको मन्त्री नेम्बाङले शनिबार अनुगमन गरेका हुन्।

चार लेनको सडक विस्तारका लागि कोटेश्वर चोक क्षेत्रमा भने अस्थायी बार लगाउने काम निर्माण कम्पनीले थालेको छ।

अनुगमनपछि मन्त्री नेम्बाङले हनुमन्ते कोरिडोरको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय सरोकारवाला, ठेकेदार र सम्बन्धित आयोजना प्रमुख र मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयलाई छलफलका लागि मन्त्रालयमा आइतबार (भोली) बोलाएका छन्।

जोरपाटी–साँखु सडक खण्डको सानो थलीको उकालो क्षेत्र र तिवारी टोलमा पनि स्थानीयहरूले सडक विस्तारमा अवरोध गर्दै आएका छन्। अवरोध भएका क्षेत्रहरूमा सडक विस्तारको काममा समस्या देखिएको छ।

स्थानीयको अवरोध नभएका क्षेत्रहरूमा भने सडक निर्माण र विस्तारको काम तीब्र गतिमा भइरहेको पाइएको मन्त्री नेम्बाङको प्रेस संयोजक सन्दीप राईले बताए।

मन्त्री नेम्बाङले सडक निर्माण र विस्तार कार्यमा समस्या देखिएको अवस्थामा सम्बन्धित क्षेत्रमै पुगेर सरोकारवालाहरूसँग छलफलमार्फत समस्या समाधान गर्दै पनि आएका छन्।

शनिबार भएको अनुगमनमा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार गजेन्द्र थपलिया , ट्राफिक प्रहरी प्रमुख भीम ढकाल, काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपाली र उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरू अधिकारी पनि थिए।

प्रकाशित : १३ असार २०७७, शनिबार ००:००