काठमाडौं, १३ असार । देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
सर्लाहलीको कबिलासी नगरपालिका–१० मा बा.१० प ४४८१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पदैलयात्रीको मृत्यु भएको छ।
नाम, थर र वतन नखुलेका करिब ७० वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलङगवा हुँदै थप उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–५ भाडसर का मोहम्मद गुलाम गैसको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरमा रोकी राखेको ना.६ ख ६२४ नम्बरको ट्रकमा बा.१४ च ६८७९ नम्बरको गाडी ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको घटनास्थलमै र बुटवल उपमहानगरपालिका–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवरको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार (आज) बिहान मृत्यु भएको हो।
दुवै गाडीका चालकलाई सवारी साधनसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको गुजरा नगरपालिका–४ कनकपुरमा ना.७ त ८७३८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक २० वर्षीय सञ्जय माझीको मृत्यु भएको छ।
बाराको सिम्रौनगढ नगरपालिका–७ पर्सा टोलमा बिआर ०५ एम ७९५९ र बिआर ०५ एइ ६१६२ नम्बरका मोटरसाइकल शनिबार बिहान एकापसमा ठक्कर खाइ दुर्घटना हुँदा बिआर ०५ एम ७९५९ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने ४२ वर्षीय अबताब आलमको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न हाल फरार रहेका बिआर ०५ एइ ६१६२ नम्बरको मोटरसाइकलका चालकको प्रहरीले खोजी गरिरहेको छ।
चितवनको खैरहनी नगरपालिका–४ लापाटोलस्थित ना.७ त ४४८८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ५७ वर्षीय रिट्ठे परियारको शनिबार बिहान मृत्यु भएको छ।
आफ्नै खेत जोत्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया