१८ माघ २०८१, शुक्रबार । January 31, 2025

मुख्य खबर

स्थायी कमिटी बैठकमा प्रचण्डको गुनासै गुनासा



फाइल

काठमाडौं १०, असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुनासै गुनासा गरेका छन्।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको बेला भएको सहमति कार्यान्वयन नभएको गुनासो गरेका हुन्। सहमतिको चार नम्बर बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ।

अध्यक्ष प्रचण्डले २०७५ सालको जेठ २ गते पार्टी एकताको क्रममा भएको सहमति पत्रको चार नम्बरमा उल्लेखित उक्त बुँदा कार्यान्वयनमा पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएकोतर्फ संकेत गरेका हुन्।

पार्टी स्थायी कमिटीका एक जना सदस्यले प्रचण्डपछि बोलेका अर्का अध्यक्ष ओलीले आफूबाट केही कमिकमजोरी भएको भए स्वीकार्न तयार रहेको बताएको टुँडिखेललाई बताए।

दुई अध्यक्षको सम्बोधनपछि स्थायी कमिटि बैठक आगामी शुक्रबार बस्ने गरी स्थगित भएको छ। निक्कै लामो समयदेखि माग भएको स्थायी कमिटी बैठक बल्ल बसेको हो।

अमेरिकी सहयोग परियोजना एमसिसी, पार्टी र सरकार सञ्चालको समीक्षासँगै कोरोना महामारी नियन्त्रणसँग सम्बन्धित विषय बैठकको एजेण्डा रहेको बताइएको छ।

बोल्नु पर्ने धेरै सवाल हुँदा पनि बैठक नबोलएको र बोलाए पनि अध्यक्ष ओलीले बहाना बनाएर छल्ने गरेको पूर्वमाओवादी पक्षका स्थायी कमिटी सदस्यहरूले आरोप लगाउँदै आएका थिए।

प्रकाशित : १० असार २०७७, बुधबार ००:००