काठमाडौं ९, असार।गलवान उपत्यकामा भएको हिंसात्मक झडपको साता दिनपछि मात्रै चीनले आफ्ना दुई सैन्य अधिकारी मारिएको जनाएको छ।
गएको जुन १५ तारिखममा चीन–भारत सीमा क्षेत्र नजिक रहेको गलवानमा चिनियाँ र भारतीय सेनाबीच हिंसात्मक झडप भएको थियो। उक्त झडपमा एक जना भारतीय सेनाका अधिकृतसहित २० जनाको मृत्यु भएको थियो।
हालै मात्र चीनले एक जना कमान्डिङ अफिसर र अर्का एक जना जवानको झडपमा मृत्यु भएको जनाएको छ। हिंसात्मक झडप भएको साता दिन बित्दासम्म चीनले आफ्नो सेनातर्फ भएको हताहतीबारे बोलेको थिएन।
भारतीय सञ्चारमाध्यमहरूले भने ठीक दोब्बरको सङ्ख्यामा चिनियाँ सेना मारिएको दावी गर्दै आएका छन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि चिनियाँ सेनाले पनि क्षति बेहोरेको बताएका थिए।
सीमाको सवालमा भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा चीन–भारतबीच सन् १९६२ पछि बढी सैन्य अधिकारी मारिएको पहिलो घटना हो। घटनापछि दुई मुलुकबीच एक अर्कालाई दोषारोपण गरिरहेका छन्। तनाव पनि चुलिएको छ।
चिनियाँ सरकारको केही परियोजनालाई भारतको महाराष्ट्र राज्यले सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
प्रतिक्रिया