हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।
शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो ।
सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् । ‘उहाँहरुले आफ्नो मान्यताहरु दर्ता गर्नुभएको छ’ प्रमुख सचेतक रामेश्वर फुयाँलले भनेका छन् ।
अब प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ ।
नेकपा संसदीय दलका नेतासमेत रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फलोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए ।
‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नैपर्छ । हामी पनि निचोडमा पुगेका छौं । अब एउटा मात्र प्रस्ताब दर्ता हुन्छ । त्यसैमा मतदान पनि हुन्छ’, मुख्यमन्त्री पौडेलले भने ।
उनले नेकपाभित्र ह्वीप लाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी गरे । ‘संसदीय दलले पनि अब ह्वीप लगाउनुपर्ने अवस्था नै सिर्जना हुँदैन । लिखित रुपमा निर्णय भएपछि ह्वीप भन्ने हुदैन’, मुख्यमन्त्री पौडेलले भने ।
नेकपाभित्र प्रदेशको नाम भन्दा राजधानीको विषयमा विवाद छ । धेरै सांसद काभ्रेको पक्षमा रहेकाले संसदीय दलको बैठकमा सहमति जुट्न सकेको थिएन ।
प्रदेशसभामा नेकपा एक्लैको बहुमत छ ।
प्रतिक्रिया