विराटनगर । विराटनगरका व्यावसायीहरुले पाम आयलमा गरेको ठूलो लगानी जोखिममा परेको छ । भारतले विदेश व्यपारनीतिमा परिवर्तन गर्दै पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको लगानी जोखिममा परेको हो ।
![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2020/01/depositphotos_61171041-stock-photo-palm-oil-fruits.jpg?resize=591%2C393)
पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । भन्सार कार्यालय विराटनगरका प्रमुख शिवप्रसाद भण्डारीका अनुसार पछिल्लो पाँच महिनामा ६ अर्ब ४२ करोड ९२ लाख मूल्य बराबरको पाम आयल निर्यात भएको छ ।
साउनदेखि मंसिरसम्म ६ हजार २ सय ३३ मेट्रिकटनको निर्यात हुँदा सोही अवधिमा ५ हजार ६ सय ९० मेट्रिकटन कच्चा पाम तेल आयात भएको भण्डारीले बताए ।
भारतको यस्तो कदमसँगै पाम आयलमा लगानी गरेका व्यवसायीहरू चिन्तित बनेका छन् ।
एक्कासि भारतले प्रतिबन्ध लगाएपछि नेपाली उद्योगीको लगानी जोखिममा परेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष अभिनास बोहरा बताउँछन् । पाम आयल उद्योग सञ्चालन गरिरहेका उद्योगी बोहराका अनुसार भारतको प्रतिबन्धले नेपालको व्यापार घाटालाई ठूलो प्रभाव पार्ने छ । उनका अनुसार, निर्यात राम्रो भएका करण नेपालका उद्योगहरु राम्रोसँग चलेका थिए । उद्योगीहरुले लेटरअफ क्रेडिट ९एलसी० खोलेका ठूलो मात्रामा कच्चा पदार्थ आयात गरिरहेका छन् । विराटनगरका पाँच उद्योगले ठूलो मात्रा कच्चा पदार्थ आयतका लागि तयारी गरेको बोहराले बताए ।
विराटनगरमा स्वस्तिक ओइल, श्रीराम रिफाइनरी, क्वालिटी आयल, बाबा भेजिटेबल र पशुपति खाद्य तेल उद्योगले पाम आयल भारत निर्यात गर्दै आएका छन् । ती उद्योगले ठूलो मात्रामा कच्चा पदार्थ माग गरेका छन् ।
पाम आइल आयातमा भन्सार छुट दिएको छ । आयत गर्दा १० प्रतिशत बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान छ । आयात गरेको एक वर्षभित्र निर्यात गरे व्यवसायीले थप सुविधा प्राप्त गर्नेछन् । यदि निकासी नगरेको अवस्थामा ग्यारेन्टीको १५ प्रतिशत जरिवाना पर्छ । चालू आवको पाँच महिनामा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
इन्डोनेसिया र मलेसीयाबाट कच्चा पाम तेल आयात गरी नेपालका उद्योगले प्रसोधन गरी भारत निर्यात गर्दै आएका छन् । भारतले नेपालबाट पाम तेल निर्यात गर्दा भारतमा राजस्व तिर्नुपर्दैन । तर भारतका व्यापारीले अन्य देशबाट आयात गर्दा ४० प्रतिशतसम्म भन्सार महसुल तिनुपर्छ ।
जम्मु–कश्मिरलाई लिएर भारत र पाकिस्तानबीच विवाद छ । नेपालबाट पाम निर्यात प्रतिबन्धमा दुईदेशबीचको द्वन्द्व मुख्य कारण रहेको स्रोत बताउँछ । भारतमा पाम ओइल आयात हुने मुख्य देश इन्डोनेशिया र मलेसिया हुन् ।
नेपालले पनि इन्डोनेशिया र मलेसियाबाट नै कच्चा पदार्थ आयात गरी भारत निर्यात गर्दै आएको थियो । तर पाकिस्तान भारतको विवादका क्रममा इण्डोनेसियाले पाकिस्तानलाई समर्थन गरेपछि भारतले पाम तेल आयातमा प्रविन्ध लगाएको स्रोत बताउँछ ।
मलेसियाले कस्मीर प्रकरणमा पाकिस्तानलाई समर्थन गरेपछि भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएको ठानिएको छ । मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले भारतले कस्मीरको विषयमा लिएको कदमको आलोचना गरेका थिए । भारतको अघोषित व्यापार युद्धको असर नेपाली व्यवसायीलाई परेको हो ।
प्रतिक्रिया