मंसिर २४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो सुनुवाई गर्न सुरुवात गरेको मोबाईल एप थालनीको दुई महिनामा जम्मा दुई दर्जन मात्र गुनासा परेका छन्।
उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार एपबाट आएको उजुरी पनि घटनाकेन्द्रित नभएर समग्र विषय केन्द्रित भएको पाइएको उनले बताए ।
‘मासु पसलहरुमा स्वच्छताको समस्या देखिएका छन् हल गर्नु पर्यो, कपडाहरु महंगा भए भन्ने खालका गुनासो प्राप्त भएका छन्,’ महानिर्देशक सुवेदीले भने ।
घटनाकेन्द्रित भएर कुन ठाउँमा के भएर ठगिन पुगेको हो भन्ने फोटो र प्रमाणसहित गुनासो गर्न सकिने भए पनि त्यसो नभएको विभागले जनाएको छ । गत कात्तिक ८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एपको सुरुवात गरेका थिए ।
गुनासो एपको रुपमा गुगल प्ले स्टोरमा मात्र उपलब्ध एपलाई सरलीकृत गर्ने काम सुरु गरिएको विभागले जनाएको छ । प्ले स्टोरमा एप नभेटिएको, चलाउन सजिलो नभएको भन्ने जनगुनासो पछि एपलाई सजिलै उपलब्ध हुने गरी ‘कन्जुमर एप’ नाममा परिवर्तन गरिएको विभागका महानिर्देशक सुवेदीले बताए ।
एपमार्फत प्रमाणसहित घटना केन्द्रित भएर उजुरी गर्न उनले उपभोक्तालाई आग्रहसमेत गरे । एपमार्फत आउनु गुनासो सुनुवाइका लागि तत्काल टोली खटाइने भन्दै महानिर्देशक सुवेदीले निर्धक्क भएर उजुरी गर्न उपभोक्तालाई अपील गरे ।
प्रतिक्रिया