मंसिर २३, चितवन । बोक्साको आरोपमा यहाँका एक वडाध्यक्षमाथि कुटपिट हुनुका साथै दुव्यवहार भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं. २ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला लगाउने, कालो मोसो दल्ने देखि मलमुत्र समेत खुवाउने समेत प्रयास भएका हुन् ।
जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाई वडाध्यक्षमाथि दुरव्यवहार भएको थियो ।
उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए । ‘उनीहरुले दिसापिसाब पनि खुवाउँछौं भनेका थिए, मैले प्रतिकार गरेँ,’ वडाध्यक्ष प्रजाले भने, ‘घटना भएको बेला मसँग २–३ जना दाजुभाइ हुनुहुन्थ्यो, उहाँहरुमाथि पनि कुटपिट भएको छ ।’
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ । घटनामा संलग्न सबैलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् ।
पञ्चबहादुर चेपाङ इच्छाकामना गाउँपालिका वडानम्बर २ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवसमेत हुन् । यसैबीच नेकपाले विज्ञप्ति जारी गर्दै वडाध्यक्ष प्रजालाई कांग्रेस कार्यकर्ताहरुले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ ।
प्रतिक्रिया