१६ कार्तिक २०८१, शुक्रबार । November 1, 2024

समाचार

प्रधानमन्त्री कार्यालयले सोध्यो काम नगर्ने ९ निर्माण कम्पनीलाई स्पष्टिकरण




मंसिर १९, काठमाडौं । कामको जिम्मा लिएर काम नगर्ने र काममा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरुमाथि प्रधानमन्त्रीको कार्यालयले स्पष्टिकरण मागेको छ । प्रधानमन्त्री कार्यालयले विकास निर्माणमा सक्रियता देखाउँदै ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीहरुसंग स्पष्टीकरण मागेको हो ।
कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलले ठेकेदारमाथि स्पष्टीकरण मागेको श्रोतले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्रै काठमाडौंको सडकका खाल्टाखुल्डी दुई महिनाभित्र पुर्न र काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंका खाल्टाखुल्टी पुर्न र सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया थालेको जनाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी पूरा नगर्ने नौ ठेकेदार तथा कम्पनीलाई एक साताको म्याद राखेर लिखित स्पष्टीकरण दिन सार्वजनिक सूचना जारी गरेको छ ।
यस्तै, टौदह कन्स्ट्रक्सन कीर्तिपुर नगरपालिका १५ का राधाकृष्ण कार्कीलाई पनि कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्ज पर्साले लेखी पठाएको थियो । अजम्बर र शिवराम कन्स्ट्रक्सन जेभी भीमेश्वर नगरपालिका १ चरिकोटका मुख्य व्यक्ति शिवजी सापकोटालाई कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्ज पर्साले आग्रह गरेको थियो ।

कार्यालयले यसअघि एक महिनाको समय दिएर ती फर्मलाई कालोसूचीमा राख्न सार्वजनिक निकायबाट लेखी आएको भन्दै स्पष्टीकरण सोधे पनि बेवास्ता गरेपछि पुनः स्पष्टीकरण सोधिएको हो । कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ (क) को प्रयोजनार्थ लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । नियम १४१ मा कालोसूचीमा राख्नेसम्बन्धी व्यवस्था छ । द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड पर्सा शाखाले कालोसूचीमा राख्न आग्रह गरेअनुसार श्री निशा सप्लायर्स हेटौंडा उपमहानगर ४ मकवानपुरका अशोक न्यासुरलाई स्पष्टीकरण सोधिएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन चरिकोट दोलखाले कालोसूचीमा राख्न सिफारिस गरेसँगै इन्दिरा कन्स्ट्रक्सन मेलुङ गाउँपालिका ४ दोलखाका मोहन खड्कालाई कालोसूचीमा राख्न स्पष्टीकरण सोधिएको छ ।
स्वस्तिक श्री विनायक कन्स्ट्रक्सन हेटौंडा उपमहानगर १० मकवानपुरका गणेशप्रसाद भेटवाललाई कालोसूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्ज पर्साले आग्रह गरेको थियो ।

नेपालगन्ज उपमहानगर १८ बाँकेको सीताराम निर्माण सेवाका मुख्य व्यक्ति सीताराम गोडियालाई कालोसूचीमा राख्न नेपाल कृषि अनुसन्धान परिषद् सिंहदरबार प्लाजा काठमाडौंले आग्रह गरेको थियो । यस्तै, सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रालि काठमाडौं महानगर ४ का मुख्य व्यक्ति विष्णुकुमार कडरियालाई कालोसूचीमा राख्न मेलुङ गाउँपालिका दोलखाले लेखी पठाएको थियो ।

बारा कन्स्ट्रक्सन काठमाडौंलाई कालोसूचीमा राख्न मेलुङ गाउँपालिका दोलखाले आग्रह गरेको थियो । गृजेस कन्स्ट्रक्सन छिन्नमस्ता गाउँपालिका सप्तरीका बन्दना दासलाई कालोसूचीमा राख्न त्रियुगा नगरपालिका गाईघाट उदयपुरले कार्यालयमा लेखी पठाएको थियो । जिम्मेवारी पूरा नगर्ने कम्पनी तथा फर्मलाई कालोसूचीमा राख्नुपरेमा त्यससम्बन्धी विस्तृत विवरण र कारण खुलाई सम्बद्ध कागजातसहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउनुपर्ने व्यवस्था छ । कार्यालयले सम्बन्धित पक्षलाई एक महिनाको स्पष्टीकरण सोध्ने र त्यस समयमा पनि स्पष्टीकरण नआए सञ्चार माध्यममा एक साताको समय दिएर सूचना निकालेपछि कारबाही गर्न सकिने व्यवस्था छ ।

प्रकाशित : १९ मंसिर २०७६, बिहिबार ००:००