१६ कार्तिक २०८१, शुक्रबार । November 2, 2024

मुख्य खबर

सत्यनिरूपण र बेपत्ता आयोगको बैठक ,सिफारीस समितिमा परेको उजुरीमाथि छलफल सुरु



काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगमा पदाधिकारी छनोट तथा सिफारिस समितिको सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकले उजुरीमाथि छलफल भएको छ ।

समितिले अघिल्लो आइतबार सम्भावित ६१ जनाको नाम सार्वजनिक गर्दै उजुरी दिन आह्वान गरेको थियो । गत आइतबार दुवै आयोगका लागि व्यक्तिगत रुपमा फारम भरेका ५० जना, संघसंस्थाको तर्फबाट ४ जना र नाम छनोट तथा सिफारिस समितिको तर्फबाट ७ जना गरी कूल ६१ योग्य उम्मेदवारको सूची सार्वजनिक गरिएको समितिका सदस्य प्रेमबहादुर खड्काले बताए ।

‘सिफारिस समितिले प्रकाशन गरेका उम्मेदवारविरुद्ध आह्वान गरिएको उजुरीबारे छलफल भयो ,उजुरीमाथि पूर्ण अध्ययन गरी दुवै आयोगमा पदाधिकारी सिफारिसका लागि फेरि अर्को बैठक बस्छ ।’समिति सदस्य खड्काले भने । खड्काका अनुसार उजुरीकर्ताहरुले राजनीतिक दलको इसारामा अगाडि बढेको भन्दै सिफारिस समितिविरुद्ध नै उजुरी हालेको पाइएको छ ।

खड्काका अनुसार उजुरीमा आयोग गठनपूर्व ऐन संशोधन हुनुपर्ने, दुबै आयोगमा पुराना पदाधिकारी दोहोर्याउन नहुने लगायतका माग गरिएको छ । यता राजनीतिक दलहरुबीच पनि सहमति हुन सकेको देखिँदैन । बिहीबार शान्ति प्रक्रियाको तेह्रौं वर्ष लागेको अवसरमा बिहीबार आयोजित द्वन्द्वपीडितसँगको अन्तरसंवादमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको संकेत गरेका थिए ।

द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले काम गर्न नसकेपछि फालिएका पुरानै अनुहारलाई फेरि आयोगमा दोहोर्याउने काम किन गरेको भन्ने प्रश्न पनि प्रचण्डलाई गरेका थिए । त्यसको जवाफमा उनले भनेका थिए, ‘शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता हुँ म । आयोगमा नयाँ मान्छे राख्नुपर्छ भन्ने मेरो पनि मान्यता छ ।’

सर्वोच्चले जे आदेश दिएको छ, त्यसैलाई मानेर विधेयक संशोधन गर्ने, त्यसमा पीडितको सुझाव लिने र शान्ति प्रक्रियालाई टुंग्याउने प्रचण्डको प्रतिबद्धता थियो । सत्यनिरूपण तथा मेलमिलाप आयोग अध्यक्षमा गणेशदत्त भट्ट र आयुक्तहरुमा माधवी भट्ट, श्रीकृष्ण सुवेदी, मञ्चला झा र गंगाधर अधिकारीलाई ल्याउने तयारी थियो । बेपत्ता छानबिन आयोगमा पूर्वन्यायाधीश मल्लिकको विघठित कार्यसमितिलाई निरन्तरता दिने सहमति भएको थियो ।

प्रकाशित : ८ मंसिर २०७६, आइतबार ००:००