काठमाडौँ । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले को वर्षौँदेखिको बक्यौता रकम तिर्न आनकानी गरेपछि ऊखु किसानहरुले नवनियुक्त उद्योग राज्यमन्त्री मोतिलाल दुगडलाई ज्ञापनपत्र बुझाएका छन् । मिल्सले रौतहटका किसानहरुलाई करीब ४२ करोड रुपैयाँ तिर्नु बाँकी रहेकाले मन्त्रालयसम्म पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
ऊखु उत्पादक किसान संघ रौतहटसँग आबद्ध किसानहरुले राज्यमन्त्री दुगडलाई भेटेर आफ्नो पीडा सुनाएका थिए ।
भेटमा राज्यमन्त्री दुगडले किसानले पाउने रकम दिलाउने प्रतिवद्धता जनाएको छन् । यो सिजनमा जिल्लाका किसानले उत्पादन गरेको २० लाख क्वीन्टलभन्दा बढी ऊखु चिनी उत्पादक उद्योगीले लिनैपर्ने समेत राज्यमन्त्री मोतीलाल दुगडले प्रतिबद्धता जनाएको सांसद झाले जानकारी दिइन् ।
रौतहटको एकमात्र ठूलो उधोगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्सले दिपावली र छठपर्वमा समेत ऊखु वापतको भुक्तानी नदिएको कारण किसानहरु रकमको खोजी गर्दै सिंहदरबारसम्म पुग्न बाध्य भएको पीडितहरुले बताएका छन् ।
श्रीराम शुगर मिल्सका सञ्चालकद्वय ऋतेश गोल्छा र विशाल अग्रवाल गत आर्थिक वर्षमा किसानसँग लिएको ऊखुबाट करोडौँको चिनी बनाएर बिक्री गरिसकेका छन् । तर, किसानलाई भने भुक्तानी दिइएको छैन ।
उद्योगीले गत वर्ष मिलबाट बिउ वितरण गरी ऊखु खेती गर्न लगाएका थिए । तर यो वर्ष मिल सञ्चालन नगर्ने पक्षमा देखिएपछि किसानहरुले उब्जाएको २० लाख क्वीन्टलभन्दा बढी ऊखु खेर जाने आशंकाले उनीहरुलाई चिन्ता बढेर गएको छ ।
आर्थिक वर्ष २०७५र०७६ मा मिलले किसानसँग लिएको ऊखुबाट एक लाख दुई हजार ८ सय २३ क्वीन्टल चिनी उत्पादन गरी कुल ६४ करोड ७७ लाख ८४ हजार नौसय रुपैयाँ बराबरको बिक्री गरेको थियो ।
तर किसानलाई मात्र ३३ करोड ७७ लाख ७३ हजार तीन सय ५८ रुपैयाँ भुक्तानी गरेको ऊखु उत्पादक किशान संघ रौतहटका कोषाध्यक्ष मनोज कुमार शहनीको भनाइ छ ।
प्रतिक्रिया