बाग्लुङ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको बताएका छन् । बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई सम्बोधनको क्रममा पार्टी अहिले बलियो रुपमा उभिएको बताएका हुन् । ‘दुईटा अध्यक्षले कता कता जोड दिने भन्ने विषय टुंग्याएको उल्लेख गर्दै उनले एउटाले सरकारमा जोड दिने र एकले पार्टीमा जोड दिने भन्ने विषयको निर्णयले पार्टीको गति अझ सुदृढ र एकढिक्का भएको बताए ।’ अध्यक्षले पार्टीमा अब कुनै पनि भ्रम नभएको र अब बाटो सफा गएको उनको भनाई थियो ।
अध्यक्ष दाहालले राष्ट्रको एकता, स्वाधिनता र भौगोलिक अखण्डता कायमा गर्नका लागि नेपाली जनताको एकता भन्दा ठूलो तागत अरु केही पनि नहुने प्रष्ट पारे । ‘राष्ट्रका लागि अनवरतरुपमा संघर्ष गर्दै आएका कम्युनिष्टहरुको एकता राष्ट्रमा अरु केही पनि हुँदैन ।’ उनले भने । यही जिम्मेवारीलाई राम्रोसँग महशुस गरेर नै पार्टी एकता गरेको बताउदै सानो चित्तले एकता नभएको उनको जिकिर थियो ।
‘राष्ट्रको वृहत्तर हितको निम्ति र नेपाली जनताको समृद्धि र विकासको आकांक्षालाई सम्बोधन गर्ने तागत पैदा गर्नको लागि एकता पैदा गरिएको हो । यो वाम गठबन्धन पनि त्यहि एकताको कडीका रुपमा हामीले बुझेका छौं ।’उनले भने । पार्टी नेतृत्वले यहाँका पार्टीका साथीहरुलाई कुनै आशंका नराखीकन वाम गठबन्धनका साझा उम्मेद्वारलाई जिताउन अगाडि बढ्नु पर्ने र पार्टी एउटा निश्चित बिचारबाट सञ्चालन हुने र एउटै उदेश्य हुने धारणा राखेको थिए ।
नेपालमा सिमानाका समस्या पुराना समस्याका रुपमा छन् भन्दै उनले कालापानी र सुस्ताको समस्या जटिल र गम्भीर प्रकृतिको भएको भन्दै अहिले भारतले प्रकाशित गरेको नक्शामा कालापानी क्षेत्र, लिपुलेक, लिम्पुवाधुरा सम्मको भूभाग भारतमा देखाइएको मान्य नहुने बताए ‘हामीले सुरुमै भन्यौं, यो हामीलाई मान्य छैन, यसको निम्ति हामी जुनसुकै किसिमको पहलकदमी लिन पनि तयार छौं । सरकारले त्यहि कुरा भनेको छ । अहिले राष्ट्र एकतावद्ध छ, जनता एकतावद्ध छन् ।’ उनले भने ।
प्रतिक्रिया