१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

मुख्य खबर

मेडिकल शिक्षामा सरकारले ठोस कदम चाल्नु पर्छ : उपराष्टपति पुन



७ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मेडिकल शिक्षका विद्यार्थीहरुले पटक पटक आन्दोलन गर्नु पर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्यका लागि सरकारले मेडिकल माफियाहरुको बिरुद्ध ठोस कदम चाल्नु पर्ने र चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने धारणा राखेका छन् । शनिबार राजधानीमा आयोजित प्रथम इमर्जेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उप राष्टपति पुनले सो धारणा राखेका हुन् ।

नेप्लिज सोसाइटी इमर्जेन्सी फिजिसियन्स्द्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आधारभूत नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन राज्यले जनस्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । उपराष्टपति पुनले भने, ‘सुविधा सम्पन्न सरकारी अस्पताल नागरिकलाई प्रभावकारी सेवा दिनबाट चुकिरहेका छन् भने अर्कोतर्फ नीजि अस्पताल आधारभूत नागरिकको पहुँचमा छैनन् भन्ने जनगुनासाहरु छन् ।’

आर्थिक अवस्था कमजोर भएकै कारण एयर एम्बुलेन्सको सेवा नपाएर विरामीले मृत्युवरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा उपराष्ट्रपति पुनको जोड थियो । उनले प्रत्येक प्रदेश, क्षेत्र तथा ठूला राम्रो हस्पिटलहरुले अनिवार्य एयर एम्बुलेन्स सेवाको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

तर यसका लागि व्यवस्थित र प्रभावकारी उपचार प्रणालीको भने खाँचो रहेको उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्र सेवामुलक क्षेत्र भएकाले यसलाई व्यापारीकरणबाट जोगाउनुपर्दछ’, उपराष्ट्रपति पुनले भने, ‘काठमाडौंमा हुने इमर्जेन्सी उपचार जुम्लामा पनि होस्, ताप्लेजुङमा पनि होस्, दार्चुलामा पनि होस्, इमर्जेन्सी मेडिसिन सबैको पहुँचमा पुगोस् ।’

नेप्लिज सोसाइटी इमर्जेन्सी फिजिसियन्स्का अध्यक्ष डा. अजयसिं थापाले प्रभावशाली इमर्जेन्सी उपचारका लागि सम्मेलन कोशेढुंगा सावित हुने बताए । विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सकहरूको अनुभव आदानप्रदान समेत हुने भएकाले यसबाट भविष्यमा इमर्जेन्सी उपचार सेवा अझै सशक्त हुने उल्लेख गरे ।

प्रकाशित : ७ मंसिर २०७६, शनिबार ००:००