१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Uncategorized

स्वास्थ्य क्षेत्रलाई माफियामुक्त बनाउन आवश्यक: उपराष्ट्रपति पुन



७ मंसिर, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मेडिकल माफियाविरुद्ध विद्यार्थीहरूले पटक पटक आन्दोलन गर्नुेपर्ने अवस्थाको अन्त्य विना स्वास्थ्य क्षेत्रको परिवर्तन सम्भव नहुने बताएका छन् । । शनिबार राजधानीमा ‘प्रथम इमजेन्सी मेडिसिन सम्मेलन’ को उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रलाई माफिया मुक्त बनाएर मात्रै जनताले स्वास्थ्य क्षेत्रमा पहुँच बनाउने बताएका हुन् ।
नेपलिज सोसाइटी इमर्जेन्सी फिजिसियन्स्द्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले आधारभूत नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन राज्यले जनस्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । पुनले भने, ‘सुविधा सम्पन्न सरकारी अस्पताल नागरिकलाई प्रभावकारी सेवा दिनबाट चुकिरहेका छन् भने अर्कोतर्फ नीजि अस्पताल आधारभूत नागरिकको पहुँचमा छैनन् भन्ने जनगुनासाहरु छन् ।’

आर्थिक अवस्था कमजोर भएकै कारण एयर एम्बुलेन्सको सेवा नपाएर विरामीले मृत्युवरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै पुनले प्रत्येक प्रदेश, क्षेत्र तथा ठूला राम्रो हस्पिटलहरुले अनिवार्य एयर एम्बुलेन्स सेवाको व्यवस्था गर्न आवश्यक रहेको बताए ।

एकाध बाहेक सबै रोगको उपचार नेपालमै सम्भव रहेको अवश्थामा सामान्य रोगका कारण विदेश जाने प्रवृती देशको लागि विडम्बना रहेको बताए । एक दशक पहिला आफू गम्भिर विरामी हुँदा स्वदेशमै उपचार गरेको प्रसँग स्मरण गर्दै पुनले ‘प्राय सबै खाले रोगको उपचार नेपालमै सम्भव छ र यसका लागि नेपाली डाक्टरहरु सक्षम रहेका बताएका थिए ।
तर यसका लागि व्यवस्थित र प्रभावकारी उपचार प्रणालीको भने खाँचो रहेको उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्र सेवामुलक क्षेत्र भएकाले यसलाई व्यापारीकरणबाट जोगाउनुपर्दछ’, उपराष्ट्रपति पुनले भने, ‘काठमाडौंमा हुने इमर्जेन्सी उपचार जुम्लामा पनि होस्, ताप्लेजुङमा पनि होस्, दार्चुलामा पनि होस्, इमर्जेन्सी मेडिसिन सबैको पहुँचमा पुगोस् ।’

नेपलिज सोसाइटी इमर्जेन्सी फिजिसियन्स्का अध्यक्ष डा. अजयसिं थापाले प्रभावशाली इमर्जेन्सी उपचारका लागि सम्मेलन कोशेढुंगा सावित हुने बताए । विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सकहरूको अनुभव आदानप्रदानसमेत हुने भएकाले यसबाट भविष्यमा इमर्जेन्सी उपचार सेवा अझै सशक्त हुने उल्लेख गरेका छन् ।

प्रकाशित : ७ मंसिर २०७६, शनिबार ००:००