पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताए ।
गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो । यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर ग¥यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताए । तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको हो । अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु)मा भर्ना गरेर उपचार भइरहेको छ ।
आमाको दुवै मिर्गौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् । विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन् । एक÷एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन ।
चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ ।
डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उहाँका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरुले बताएका छन् । तर मिर्गौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन् । शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन् । जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर प्राण धानिएको सविताले बताउनुभयो । “यतिसम्म पीडा हुने रहेछ कि कुरै नगरौँ, १३ दिनकी छोरीलाई मसँग राखेर ल्याक्टोजिन खुवाएर प्राण धानेकी छु”, सबिताले भन्नुभयो, “जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो ।”
आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उहाँले सुनाउनुभयो । विशाकाका श्रीमान् विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आउनुभएको छ । उहाँको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ । विशाकाका ससुरा पदम परियारसमेत अपाङ्ग छन् ।
विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहनुभएको छ । मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सविताले बताउनुभयो । देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थाल्नुभएको छ ।
प्रतिक्रिया