१७ कार्तिक २०८१, शनिबार । November 3, 2024

Uncategorized

सरकारले ज्येष्ठ नागरिकको समस्या समाधानका लागि तीन तहको सरकारवीच समन्वय थाल्यो



सरकारले ज्येष्ठ नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै उनीहरुको अधिकारलाई व्यावहारिक रुपमै कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई तीव्रता दिएको छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा पत्ता जीवन निर्वाह गर्न पुग्ने गरी बढोत्तरी गर्दै लैजाने, ज्येष्ठ नागरिक ऐन र १० वर्षे राणनीतिलाई समयानुकूल बनाउने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तीनै तहको सरकारबीचको समन्वयलाई प्रभावकारी बनाएको छ ।

मन्त्रालयले ऐननियमको प्रभावकारी कार्यान्वयन ( यातायातमा ज्येष्ठ नागरिकलाई आरक्षण र छुट) र ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना निर्माण, अस्पतालहरुमा ज्येष्ठ वार्ड तीव्र विस्तार गर्न शुरु गरेको सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिएका छन् । बजेट वक्तव्य २०७६÷७७ मा ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई अन्तर–पुस्ता हस्तान्तरण गर्न स्थानीय तहमा दिवा सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने र बेसहारा, अशक्त व्यक्तिहरु सडकमा रहनु नपर्ने व्यवस्था मिलाइने भनिएको छ । सोही अनुसार सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले सहाराविहीन ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न २३० जना क्षमता भएको पशुपति वृद्धाश्रमसमेत सञ्चालन गर्दै आएको छ । वृद्धाश्रममा अहिले करीब २०० जना ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् । सरकारले ज्येष्ठ नागरिक भत्ता विगतको रु १०० बाट रु तीन हजार पु¥याउँदै प्रदेश र स्थानीय सरकारबाट प्राथमिकता दिएको छ । सन् २०१७ मा ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सङ्ख्या विश्वको जनसङ्ख्याको १३ प्रतिशत रहेको अनुमान गरिएको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६० वर्ष उमेर पुगेका मानिस कूल जनसङ्ख्याको नौ प्रतिशत (करीब २५ लाख) रहेको छ ।

ज्येष्ठ नागरिकको विश्व जनसङ्ख्या वार्षिक तीन प्रतिशतले बढिरहेको र सन् २०५० सम्ममा करीब २१ प्रतिशत हुने र सो अवधिसम्म ज्येष्ठ नागरिकको कूल सङ्ख्या १० वर्षमुनिका कूल बालबालिकाभन्दा बढी हुने अनुमान गरिएको छ । नेपालको संविधान (धारा ४१) मा ‘ज्येष्ठ नागरिकको मौलिक हकमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनिएको छ ।

त्यसैगरी राज्यका नीतिहरु (धारा ५१, (ञ) ‘सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति’ (१२) मा सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा सबै लिङ्ग, क्षेत्र र समुदायभित्रका आर्थिक रुपले विपन्नलाई प्राथमिकता प्रदान गर्ने भनिएको छ । ज्येष्ठ नागरिकहरुले विगत लामो समयदेखि स्वास्थ्य उपचार, यातायात भाडामा छुटको व्यवस्था र सिटको व्यवस्था लगायतका माग गर्दै आएका छन् ।

प्रकाशित : २३ कार्तिक २०७६, शनिबार ००:००