१७ कार्तिक २०८१, शनिबार । November 3, 2024

समाचार

सार्वजनिक जग्गा अतिक्रमण रोक्न खबरदारीको रुपमा अकुपाई टुँडिखेल अभियान शुरु



सार्वजनिक जग्गा अतिक्रमणले सीमा नाग्न थालेपछि यस प्रकारको अतिक्रमण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्कमा अकुपाई टुँडिखेल’ अभियान शुरु गरिएको छ । ‘अकुपाई टुँडिखेल’ अभियानअन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर अभियानको सुरुवात गरिएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भिमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए । सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन् । कार्यक्रममा सहभागिहरुले ‘ ‘टुँडिखेल कसको विर्ता ? अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’ ‘ेजनतादेखि जनप्रतिनिधिसम्म’ , लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।
खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उदघाटन गरेपछि संरक्षणको सन्देश दिन मानवसाङ्लो बनाएर प्रदर्शन गरिएको थियो ।विश्व स्वतन्त्रता दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानअन्तर्गत तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानका अभियन्ताहरु बताउँछन् । टुँडिखेल नै मासिने अवस्था आएकाले ‘अकुपाई टुँडिखेल’ अभियान थालिएको हो ।काठमाडौंको मुटुमा अवस्थित टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो । तर अहिले टुँडिखेलको सानो हिस्सा मात्र सार्वसाधारणको पहुँचमा छ । कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थलको रुपमा प्रयोग गरिन्दै आएको छ ।

प्रकाशित : २३ कार्तिक २०७६, शनिबार ००:००