२६ माघ २०८१, शनिबार । February 8, 2025

समाचार

तेह्रथुमको आठराई विमानस्थल तीन वर्षभित्रै सम्पन हुने




संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ४१ वर्ष अघिदेखि प्रक्रिया अगाडि बढेर अड्किएको आठराई विमानस्थल निर्माणले गति लिने प्रतिबद्धता व्यक्त गरेका छन् । हवाईमैदानको स्थलगत अध्ययनका लागि आज चुहानडाँडा आइपुगेका मन्त्री भट्टराईले विमानस्थल निर्माणको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए ।

यो आर्थिक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानको कार्य हुने भएकाले विमानस्थल बन्ने मन्त्री भट्टराईले बताए । अरू विमानस्थलभन्दा पनि विभिन्न कारणले चुहानडाँडा विमानस्थल प्राथमिकतामा रहेको उनको भनाइ थियो । पाँचथर, ताप्लेजुङ र तेह्रथुमको केन्द्रमा भएकाले सो विमानस्थल निर्माण हुनु महत्वपूर्ण रहेको मन्त्री भट्टराईले बताए । आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्कीडाँडामा विमानस्थल बनाउने चर्चा २०३२ सालदेखि नै चलेको हो । यसअघि पाँच पटक सम्भाव्यता अध्ययन गरिएको छ । विमानस्थल निर्माणका लागि २०३२, २०३५, २०६९ र २०७१ सालमा सम्भाव्यता तथा सर्वेक्षण गरिएको थियो ।


ते¥हथुम जिल्लाको आठराई गाउँपालिका–६, स्थित चुहानडाँडा विमानस्थल निर्माणका लागि अनुगमनमा गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश–१ सांसद तेजमान कन्दङवालगायत । तस्वीर : विपुल अधिकारी

सम्भाव्यता तथा सर्वेक्षण अध्ययनका आधारमा उपयुक्त ठहरिइ २०७३ मा विस्तृत सर्वेक्षण भई लागत स्टिमेटसमेत भएको भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य तेजमान कन्दङवाले बताए । विमानस्थल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई,सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अनुरोध गरिएको थियो । विमानस्थलका लागि पटकपटक अध्ययन र प्रतिनिधिमण्डल सरकारसमक्ष पुगे पनि कार्यान्वयनमा आउन नसकेको स्थानीयवासी रामबहादुर लिम्बूले बताएका छन् । आठराई क्षेत्रको आवश्यकता र समृद्धिसँग जोडिएको विमानस्थलको जग्गा मुआब्जाका लागि रु दुई करोड ५० लाख लाग्ने भक्तराज स्मृति आठराई थुम्की विमानस्थल सरोकार समितिका सचिव रामचन्द्र थपलियाले बताए । दुई सय ७१ रोपनीमा फैलिएको सो ठाउँमा १० स्थानीयवासीको जग्गा छ । मन्त्री भट्टराईसँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल र प्राविधिकसहितको टोली आठराई आएको हो ।

प्रकाशित : ७ कार्तिक २०७६, बिहिबार ००:००