१९ कार्तिक २०८१, सोमबार । November 4, 2024

समाचार

भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको लागि निम्तो



जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा को सिलसिलामा भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो उनीहरुवीचको पहिलो भेटघाट हो ।

सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिएका थिए । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसक्नुभएको छ ।

आयोजनाहरु छिट्टै बन्ने दृढता व्यक्त

सो अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरेका थिए । भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले दिए ।

दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ । नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।

प्रकाशित : ५ कार्तिक २०७६, मंगलबार ००:००