मोरङ । मोरङ पथरीशनिश्चरे-४ बस्ने डिमोने कामीलाई छुवाछुत सम्बन्धी दुव्यवहार गरेको अभियोगमा जाहेरी दरखास्त परेपछि वडा नं. ९ को टकलबहादुर पाण्डे र रुद्रबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।
असोज २० गते साँझ ५ बजे शनिश्चरे बजारमा रहेको टकलबहादुर पाण्डेको चिया दोकानमा ६० बर्षिय डिमोने कामी चिया खान गएका थिए । चिया दोकानमा रहेको ६५ बर्षिय रुद्रबहादुर कटुवालले ‘ए कामी तेरो बस्ने ठाउँ बाहिर हो ।’ भनेपछि होटल सञ्चालक टकलबहादुर पाण्डेले मेरोमा सत्यवादी मान्छेहरु आउँछन । बाहिर बस भन्दै ठेलेर बाहिर निकालेको पीडित डिमोने कामीको भनाइ छ ।
घट्नापछि २२ गते पथरीशनिश्चरे नगरपालिकामा रहेका विभिन्न दलितसँग सम्बन्धीत संघ संस्थाहरुको भेलागरेर २७ गते इलाका प्रहरी कार्यालय पथरीमा ‘जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय’ सम्बन्धी मुद्धा लगाएका छन् ।
मुद्धा लगाएपछि प्रहरीले असोज २९ गते पाण्डे र कटुवाललाई पक्रेर ३० गते जिल्ला अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी लक्ष्मीनारायण अधिकारीले बताए ।
पति विरुद्ध मुद्धा दर्ता भएपछि टकलबहादुर पाण्डेको पत्नि कुष्णकुमारी पाण्डेले डिमोने कामी विरुद्ध अभद्र व्यवहारमा जाहेरी दरखास्त दिएपछि कामीलाई पनि पक्राउ गरिएको छ ।
कामीलाई पक्राउ गरेपछि ३० गते अपरान्ह नगरमा रहेका दलित संघ/संस्थाहरुबाट पत्रकार सम्मेलनको आयोजना गरी छुवाछुत सम्बन्धी भएको घट्नाको निष्पक्ष छानवित तथा डिमोने कामीलाई विना सर्त रिहाइको माग गरेको छ ।
रिहाइ नभए संघर्ष हुने दलित संगठनले निकाले प्रेस विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा दलित संग सम्बन्धित सात वटा संस्थाका नेताहरु सहभागि थिए ।
प्रतिक्रिया