![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/10/pig.jpg?resize=720%2C302)
,
सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन् । उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिएका छन् । राईसँगै सँुगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ । फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको थियो । मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो चार जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन् । मासुमात्र खाने अरु बिरामी नपरेको भनाइ छ ।
प्रतिक्रिया