२१ कार्तिक २०८१, बुधबार । November 6, 2024

Uncategorized

दुर्घटना अपडेटः मृत्यु भएका ११को सनाखत , टायर पम्चर भई व्रेक नलाग्दा दुर्घटना



सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार बस दुर्घटनमा परी घाइते भएकाको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएपछि गाडीबाट ओराल्न सहयोग गर्दै काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख जयराज सापकोटा । तस्बिर: पेमा लामा


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजीक खोँचमा एक सवारी साधन दुर्घटनामा पर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खसेको थियो दुर्घटनामा पचास जनाभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताए ।

मृत्यु हुनेमा ६ जना पुरुष, ४ जना महिला र १ जना बालकको सनाखत भएको उनले बताए। सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन्। अन्य मृतकहरू जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर, रितेश आचार्य रहेका छन्। एक बालक सुमित पुर्कुटी रहेका छन्।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्र्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुन सक्ने देखिन्छ । दुर्घटनामा परेका प्रायः सबै घाइते भएको हुन सक्ने अनुमान गरिएको छ र घटनामा परी घाइते भएका यात्रुहरुको धुलिखेल र बनेपास्थित अस्पतालमा विभिन्न स्थलमा उपचार भइरहको जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घाइतेमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ६७ जना र शिर मेमोरियल अस्पताल बनेपामा १६ जना गरी ८३ जनाको उपचार भइरहेको छ। धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि एक बालकलाई काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा ‘रिफर’ गरिएको गिरीले बताए। उनका अनुसार उपचारका लागि ल्याउने क्रममा मुत्यु भएका जुनादेवी लम्साल, गणेश तामाङ, सुमित पुर्कोटी, सुवास अधिकारी र मीना मगरको शव धुलिखेल अस्पतालमा रहेको छ। 
कच्ची सडक, यात्रु बढी र बसको टायर पम्चर भई कच्ची सडकमा ब्रेक नलाग्दा सो बस दुर्घटना भएको हो ।

दुर्घटनाको अवश्था बुझ्न प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल बस दुर्घटनास्थलमा पुगेका थिए । हेलिकप्टर लिएर घटनास्थल आइपुग्नुभएका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रकाशित : २४ आश्विन २०७६, शुक्रबार ००:००