बडादशैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाएको छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ ।
कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका ससाना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।
नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ ।
दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाइ रहेको छ भने अर्को थरी संस्कृतकर्मीको कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय भएको तर पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको भनाइ छ ।
महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दशैँको मासु भित्र्याएका थिए । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्तरूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलनअनुसार आज दशैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन रहेको छ ।
प्रतिक्रिया