३० माघ २०८१, बुधबार । February 12, 2025

मुख्य खबर

लिम्बुनी ढाका व्यवसायको बद्लिँदो रुप

ढाका व्यवसायप्रति दिनप्रतिदिन आकर्षक बढ्नुका अतिरिक्त सुनौलो रोजगारीको अवसर प्रदान, करौडौं मूल्य बराबरको कारोवार हुने गरेको छ ।



तान बुन्दै गरेकी महिला । फोटो : कल्पना योङहाङ


टुडिखेल डेस्क,११ असोज / पहिले–पहिले लिम्बू नारीहरुमा मात्र सिमित घरेलु उत्पादन ढाका(तान) बुन्ने व्यवसाय समयसँगै विभिन्न समुदायमा भएको विस्तारसँगै यसले व्यावसायिक रुपमा फड्को मार्न थालेको छ । यसरी आवश्यकता अनुसार काठमा स–साना तानमा साधा ढाका (थाक्थाक्मा) बुन्ने पेशा अहिले स्वरोजगारको लागि दर्विलो अवसर बन्न पुगेको हो ।

ढाकाबाट बनेका कपडाहरु अहिले नेपाली बजारमा मात्र सिमित छैन । यसको बजार हङकङ युकेदेखि लिएर खाँडी देशहरुमासमेत व्यावसायिक रुपमा विस्तार हुँदै गएको द हाइलेण्ड आर्टकी प्रोपाइटर तथा ढाका उद्यमी कल्पना योङहाङ बताउँछिन् ।‘ ढाकाको व्यपार पहिलाको तुलनामा अहिले राम्रो हुँदै गएको छ,’उनले भनिन्‘समयसंगै यसको डिजानइमा आएको परिवर्तनले ढाका कपडामा सेवाग्राहीको आकर्षण बढ्दै गएको हो ।’

ढाका व्यावसायको यो बदलिँदो अवश्थाले धेरैको रोजीरोटीको लागि भरपर्दो माध्यम बन्न पुगेको छ भने यस ढाका व्यवसायमार्फत विद्यमान बेरोजगारी समस्या अन्त्य गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको पाइन्छ ।

मुन्धुममा तान अर्थात थाक्थाक्मा

तान बुन्ने व्यवसाय पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समाजको सभ्यता र जीवन शैलीसँग गहिरो सम्बन्ध राख्दछ । तान्न बुन्नुलाई लिम्बू समुदायले ‘थाक्थाक्मा’ भनेर सम्बोधन गर्छन् । थाक्थाक्मा आदिकालदेखि नै लिम्बू समुदायले आम्दानीको अनन्त स्रोतको रुपमा लिँदै आएको पाइन्छ । खासमा थाक्थाक्मा र लिम्बू महिलाहरुवीच अन्योन्याश्रित सम्बन्ध छ । यसले लिम्बू महिलाहरुको मौलिक ज्ञान र सीपको उजागरसमेत गर्दछ ।
बंगालादेशको ढाकाबाट ल्याइएकोले यस कपडालाई ढाका भनिएको भनाईमा त्यति सत्यता छैैन् । खासमा प्रचलित ढाका कपडाको खास नाम त ‘थाका’ बाट अप्रभंश भएर ढाका भएको हो । उहिल्यै युमाले तान हालेर यस्तो कपडा बनाउँदा थाक्–थाक् गर्दै आवाज आउँथ्यो, तानमा थाक्–थाक् गरी आवाज आउँदा तानमा बुनेको कपडालाई ‘थाका’ भनियो, तर पछि बिगारेर यसलाई ‘ढाका’ भन्न पुगेको हो भन्ने विद्धानहरुको भनाइ रहेको छ ।

मुन्धुम अनुसार युमा साम्माङ जहाँ जाँदा पनि थाक् (तान) लिएर हिड्ने गर्थिन् । फेदाङमाहरुले युमा साम्माङलाई तानको मालिक्निको रुपमा वर्णन गरिएको छ । त्यै भएर होला लिम्बू नारीहरुले परम्परागतदेखि नै मौलिक ज्ञान र सीपको रुपमा तान बुन्ने कार्यलाई अद्यपी निरन्तरता दिँदै आइरहेका छन् । त्यसैगरी लिम्बुहरुको तङसिङ तक्मा मुन्धुम र फुङवा चाङमा मुन्धुममा पनि तानको प्रसङगलाई सुरम्य रुपमा कथिएर बयान गरेका पाइन्छ । त्यस्तै लिम्बू जातिमा प्रचलित साम्पोक चोमेन ( कोख पूजा) मुृन्धुममा पनि तानको प्रसंगलाई महत्वका साथ उठान गर्ने काम गरिन्छ । यसरी लिम्बू समुदायमा फिजाएका तानका धागाहरु गाँठो परे वा चुढिए सामाजिक तथा पारिवारिक जीवन नराम्रो घटना एवं विध्नबाधा आइपर्ने विस्वास रहि आएको छ । मुन्धुम अनुसार तानको सृष्टीकर्ताको रुपमा युमा साम्माङलाई नै लिइन्छ ।

यसरी मुन्धुमी प्रसंगहरु केलाउँदा यो तान बुन्ने व्यवसाय लिम्बू जातिको परम्परागत व्यवसाय एवं संस्कृति हो । कालान्तरमा लिम्बू महिलाहरुले निजी प्रयोजनको लागि घरमै तान राखेर ढाका बुन्न थाले पछि यस व्यवसायले विस्तारै विस्तृत रुप लिँदै गएको मानिन्छ ।

रंगिन ढाकाको कथा

ढाका कपडाबाट बनेको सारीमा सजिएकी महिला , फोटो : कल्पना योङहाङ


पहिला लिम्बू महिलाहरुले आफैले धागो उत्पादन गरेर साधा ढाका बुन्ने गर्थे । साथै,विभिन्न जडिबुट्टीको झोलले रङगाएर रङगिविरङगी कपडासमेत तयार पार्दथे । अहिले प्रविधिको विकाससँगै ढाका कपडामा जडिबुटीको रसले रङगाएर रङगिविरङगी बनाउनु पर्ने बाध्यता छैन् तानमा प्रयोग हुने धागाहरु चाइना र भारतबाट नै आयात गर्नु पर्ने भएकाले निकै खर्चिलो र झन्झटिलो हुन पुगेको व्यवसायी बताउँछन् ।
करिव तीन दशक अघि घुम्दै तेह्रथुम आइपुगेकी बेलायती महिला सूजी डान्समोर तेह्रथुमे ढाका मन पराएपछि रंगीन बनाउन सकिने अवधारणा (अयलअभउत) बनाएदेखि नै यस ढाका व्यवसायमा रंगीन अभ्यास हुन थालेको बताइन्छ । सूजीले ढाका सम्बन्धी अनुसन्धान गरेर सन् १९९३ मा उनले विट्रिस म्युजियम प्रेसबाट‘नेप्लिज टेक्सटायल’ नामक पुस्तक पनि प्रकाशित गरेका थिइन् । सूजीले तयार पारेको अवधारणा कै कारण लिम्बू जातिमा मात्र सीमित यो ढाकाबाट निर्माण हुने पोशाक अहिले यत्रतत्र व्यापकता पाएको हो ।

बढ्दो बजार आकर्षण
अहिले प्रदेश नम्बर १ अन्तर्गतन लिम्बुवान क्षेत्रमा पर्ने प्रत्येक जिल्लाहरुमा तान राखेर ढाका बुन्नेहरु करिव १५ हजारको संख्याले स्वरोजगार बन्ने सुअवसर पाएका छन् । ठ्याक्कै सरकारी तथ्याङक नभएपनि देशभर बार्षिक ६ देखि १० करोड मूल्य बराबर ढाका व्यवसायीले उत्पादन गर्ने गरेको अनुमान छ । जसमध्ये अढाई करोड देखि तीन करोड सम्मको उत्पादन बाह्य निर्यात हुने गरेको ढाका व्यवसायी बताउँछन् ।
ढाका अहिलेको युवा पुस्ता, गैह्र आवासीय नेपाली र विदेशीहरुले नेपाली ढाकाबाट बनेको पोशाकले मन जित्न सकेको व्यवसायीहरुको बताउँछन् । यसरी मौलिक ज्ञान र सीपको रुपमा प्रचलित तान बुन्ने (थाक्थाक्मा) ढाका व्यवसायमा आधुनिक प्रविधिको प्रयोगले ढाका व्यवसायबाट राज्यले ठूलो आर्थिंक लाभ हासिल गर्दै आएको छ । स्थानीय तहमा मौलिक ज्ञान र सीपको रुपमा आधारित यस ढाका तान व्यववायलाई विशेष प्राथमिकता दिएर यसलाई उद्योगको रुपमा विकास गर्न जरुरी रहेको ढाका ब्ववसायी सेमिमा तुुम्बाहाङफे बताइछिन् ।

परम्परागत साँँस्कृतिक ज्ञान र सीपमा आधारित यस ढाका व्यवसाय विस्तारै उद्योगको रुपमा विकास हुँदै गएकाले यसको भविष्य उज्वल रहेको पाइन्छ । मौलिक ज्ञान र सीपमा आधारित व्यवसायहरुको विकास ,संरक्षण र सम्बद्र्धन गर्ने खालको औधोगिक नीति तथा योजना राज्यले निर्माण गर्नु खाँचो रहेको व्यवसायीहरुको भनाई रहेको छ ।

प्रकाशित : ११ आश्विन २०७६, शनिबार ००:००