इस्लामावाद, ८ असोज । पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ भने ४७६ भन्दा बढी घाइते छन् ।
पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म २८ को निधन भएको त्यहाँका एक प्रमुख समाचार संस्था डाउनले उल्लेख गरेको छ । मृत्यु हुनेमा महिला तथा बालबालिका बढी रहेको मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले जानकारी दिएका छन् । भूकम्पका कारण ४७६ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
मंगलबार अपरान्ह् ४ बजे गएको भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको छ ।
पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
तस्विरहरु : एएफपी
प्रतिक्रिया