३० माघ २०८१, बुधबार । February 13, 2025

समाचार

चार वर्षपछि बालविवाह आरोपितलाई कैदको फैसला




बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवानाको फैसला सुनाइएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका– ६ पूर्वपिप्रा गाउँकी १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवाना गर्नाका साथै बालविवाह गरेकामा रू १० हजार जरिवाना गरेको थियो ।
मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठसमेतको इजलासले बालविवाह गराइदिएकामा सोही स्थानका बालिकाका बुबा सागर साहलाई एक हजार जरिवाना तोकेको थियो । इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरमा ०७२ जेठ १५ गते आरोपीले बालविवाह र बहुविवाह गरिरहेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकामा प्रहरीले आरोपीलाई तत्कालै पक्राउ गरेको थियो ।

जनकपुरको भानु चोककी बीनादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका आरोपीका जेठी श्रीमतीतर्फ २३ वर्षीया एक छोरी छ । जेठीबाट छोरा नभएको भन्दै  आरोपीले  बालिकासँग दोस्रो विवाह गरेका थिए ।  सो मुद्दामा जिल्ला न्यायाधीश विनोदकुमार गौतमको इजलासले विसं ०७३ चैत २१ गते आरोपीलाई सफाइ दिने फैसला गरेको थियो । 

विवाह भइरहेको जानकारी गराएलगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेको भए वा विवाहपछि पक्राउ परेका आरोपीविरुद्ध जिल्ला अदालतले सफाइ नदिएको  भए बालविवाह र बहुविवाह रोकिने सम्भावना थियो तर चार वर्ष ढिलो फैसला हुँदा कसुरदारलाई सजाय भए पनि विवाह भने बदर हुन नसकेको अधिवक्ता मीना देवले बताइन् । 

प्रकाशित : ६ आश्विन २०७६, सोमबार ००:००